न्याय परिषद्‌द्वारा थप २ जना न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस


काठमाडौं – न्यायपरिषद् बैठकले थप २ जना न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ। परिषद्‌को सोमबार बसेको बैठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशलाई बर्खास्त गर्न कायममुकायम प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

न्यायपरिषद्‌का प्रवक्ता मानबहादुर कार्कीका अनुसार उच्च अदालतका न्यायाधीश राकेशकुमार निधि र जिल्ला अदालत काठमाडौंका न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गरेको हो।

निधि उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासको न्यायाधीशमा कार्यरत रहेका छन्। न्यायपरिषद्‌को सिफारिसलाई कामु प्रधानन्यायाधीशले सदर गरेपछि उनीहरु बर्खास्त हुनेछन्।

उच्च अदालतका न्यायाधीश निधि राजविराजमा रहँदा र शर्मा सिरहामा कार्यरत रहँदा खराव आचरण देखाएको भन्दै छानबिनमा तानिएका थिए।

यसअघि पनि समितिले ३ न्यायाधीशलाई बर्खास्तीको सिफारिस गरेको थियो भने एक जनालाई सचेत गराएको थियो। कार्यसम्पादनमा कैफियत तथा खराब आचरण देखिएका न्यायाधीशमाथि परिषद् पछिल्लो समय आक्रामक देखिएको छ।

प्रतिक्रिया