कांग्रेसका यी नेतालाई टिकट पाउनै ‘महाभारत’

पार्टीका आधा बढी केन्द्रीय नेतालाई प्रतिनिधि सभामा उठ्न सिट नै नपुग्ने


काठमाडौं – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसले मातहतका निकायलाई उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । तर, नेपालको सबैभन्दा पुरानो र ठूलो पार्टी कांग्रेसमा प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवार हुन चाहनेको सङ्ख्या दुई सय ५० भन्दा बढी छ ।

हाल कांग्रेसमा एक सय ५८ केन्द्रीय सदस्य, ७७ जिल्ला सभापति र ७ प्रदेश सभापतिहरु गरी दुई सय ४२ जनाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ टिकट पाउन दाबी गर्नुलाई अस्वभाविक पनि मान्न सकिन्न । त्यसमा पनि १६ जिल्लालाई छाड्ने हो भने २ भन्दा बढी संघीय निर्वाचन क्षेत्र भएको जिल्लामा क्षेत्रिय सभापतिहरु सांसदकै दाबी गरिरहेका छन् ।

प्रतिनिधि सभातर्फ एक सय ६५ निर्वाचन क्षेत्र सबैमा पार्टीले आधिकारिक उम्मेदवार उठाउन सक्छ । तर संयुक्त सरकारको नेतृत्व गरेको कांग्रेसले संघीय र प्रदेश सभाको निर्वाचनमा सत्तारुढ गठबन्धनमा आबद्ध पाँच दलसँग तालमेल गर्ने निर्णय गरिसकेको छ । त्यसैले पार्टी भित्र र गठबन्धनकै कारण अधिकांस पदाधिकारी र केन्द्रीय सदस्यले प्रत्यक्षतर्फ उम्मेदवार बन्न सक्ने आवस्था छैन ।

यी पदाधिकारी र नेतालाई टिकट पाउन सकस

पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नंम्वर १ बाट उम्मेदवार हुन चाहन्छन् । तर यो क्षेत्रमा पार्टीका केन्द्रीय सदस्यद्वय शंकर भण्डारी र गोविन्द भट्टराईले पनि उम्मेदवार बन्ने दाबी गरेका छन् । गठबन्धनमा भएको सहमतिअनुसार सो क्षेत्रमा नेकपा (एकीकृत समाजबादी)का कृष्णकुमार श्रेष्ठ (किसान)लाई कांग्रेसले छाड्नु पर्ने देखिन्छ ।

गठबन्धनले गठन गरेको कार्यदलमा अन्यथा निर्णय नभएमा तनहुँ १ बाट श्रेष्ठ नै उम्मेदवार बन्ने सम्भावना छ । जसले गर्दा बरिष्ठ नेता पौडेल, नेता भण्डारी र भट्टराईहरुले समानुपातिक वा राष्ट्रिय सभा ताक्नु पर्ने वा संसदीय राजनीतिमा जिम्मेवारी पाउने वा लिने सम्भावना देखिँदैन ।

दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा उपसभापति धनराज गुरुङ, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य सरस्वति अर्याल तिवारीले उम्मेदवार हुने चाहना गरेका छन् । गुरुङ र श्रेष्ठले दुवै क्षेत्रबाट दाबी गरेका छन् भने नेतृ तिवारीले २ नम्वर क्षेत्रबाट दाबी गरेका छन् । स्याङ्जामा जिल्ला सभापति राजु थापादेखि सांसद मोहन पाण्डेसमेतले दाबी गरेका छन् । तर, यहाँबाट तीनै जना नेताले टिकट पाउने सम्भावना छैन ।

महामन्त्री विश्वप्रकाश शर्मा झापा १ बाट उम्मेदवार हुन चाहेका छन् । तर यो निर्वाचन क्षेत्रमा गठबन्धनमा रहेको माओबादी केन्द्रका सांसद सुरेन्द्र (राम) कार्की रहेका छन् । त्यसैले महामन्त्री शर्माको हकमा विशेष निर्णय नगरिए शर्माले टिकट पाउने सम्भावना छैन । झापाको सोही क्षेत्रकी भर्खरै केन्द्रीय सदस्यमा मनोनित गोमा भट्टराईले पनि प्रत्यक्षमा टिकट पाउने सम्भावना छैन् ।

झापा क्षेत्र नम्वर २ बाट केन्द्रीय सदस्य सरिता प्रसाईँ, पूर्वकेन्द्रीय सदस्य केशबकुमार बुढाथोकी, पूर्वसांसद सुधिर शिवाकोटीले दाबी गरेका कारण प्रसाइँलाई र अर्की केन्द्रीय सदस्य सुशिला ढकाललाई टिकट पाउनै मुस्किल देखिन्छ ।

झापा ५ बाट नेविसंघका पूर्वउपाध्यक्ष मेदनीप्रसाद सिटौला र अघिल्लो निर्वाचनमा उम्मेदवार भएका खगेन्द्र अधिकारीले टिकट दाबी गरेका कारण केन्द्रीय सदस्य महेन्द्र लिम्बुले टिकट पाउने सम्भावना छैन।

पार्टीका सहमहामन्त्री फर्मुल्लाह मन्सुर बाराको निर्वाचन क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभामा उम्मेदवार बन्न चाहन्छन् तर यहाँ जनता समाजबादी पार्टीका सांसद रामबाबु कुमार यादवले ०७४को आमनिर्वाचनमा निर्वाचित भएकाले सो क्षेत्रमा जसपाले नै गठबन्धनबाट टिकट पाउने सम्भावना छ ।

नेकपा एसका नेता तथा पूर्वमन्त्री विरोध खतिवडा मकवानपुर २ बाट निर्वाचित भएकाले कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले सो क्षेत्रबाट टिकट पाउने सम्भावना छैन ।

कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत यो पटक नुवाकोटको क्षेत्र नम्वर १ बाट प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्ने चाहना राखेका छन् । तर यो क्षेत्रबाट अघिल्लो निर्वाचनमा माओबादीका हितबहादुर तामाङ निर्वाचित भएकाले यो क्षेत्रबाट महतले टिकट पाउने सम्भावना छैन ।

महत यसअघि काठमाडौं क्षेत्र नम्वर ५ बाट संघीय संसदको निर्वाचनमा उम्मेदवार भई एमालेका नेता इश्वर पोखरेलसँग पराजित भएका थिए । महत हालसम्म संसदमा प्रत्यक्षबाट निर्वाचित भएका छैनन् ।

नुवाकोटको क्षेत्र नम्वर २ मा पार्टीका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी र केन्द्रीय सदस्य बहादुर सिंह लामाले उम्मेदवार बन्ने दाबी गरे पनि २ मध्ये एक जनाले टिकट पाउने सम्भावना छ ।

यस्तै, कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर बर्दिया २ बाट उम्मेदवार बन्न चाहन्छन् । तर त्यो क्षेत्रबाट माओबादीका सन्तकुमार थारु निर्वाचित भएकाले राठौरको सम्भावना छैन । यता बर्दियाको क्षेत्र नम्वर १ मा भने हाल विजयी भएका सांसद संञ्जय गौतम र गोपाल दहितले टिकट दाबी गरेकाले दुई मध्ये एक जनाको मात्र सम्भावना छ ।

यस्तै, अर्का सहमहामन्त्री सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको गृह जिल्ला बाजुरामा एउटा मात्र निर्वाचन क्षेत्र छ । त्यहीँबाट कविराज पण्डितले दाबी गरेका कारण पाण्डेको नाम सर्बसम्मतमा सिफारिस हुने सम्भावना छैन । सहमहामन्त्री जीवन परियारको गृह जिल्ला कास्की हो तर उहाँको नाम प्रत्यक्षतर्फ एकल सिफारिस हुन सकेको छैन ।

पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधी कहाँबाट उठ्ने टुंगो छैन । यसअघि धनुषा ३ बाट उम्मेदवार हुँदा तत्कालिन राजपाका नेता राजेन्द्र महतोसँग पराजित निधीले यो चुनावमा आफू पहाडतिर उक्लने भन्दै अन्य जिल्लाबाट उम्मेदवार हुने चाहना राखेका छन् तर उनको नाममा कुनै पनि जिल्लाबाट नाम सिफारिस भएको छैन ।

उर्जा, जलश्रोत तथा सिँचाई मन्त्री पम्फा भूषाल अघिल्लो संसदीय निर्वाचनमा जितेकै क्षेत्र ललितपुर ३ बाट पुनः प्रतिष्पर्धा गर्ने योजनामा छिन् । तर यो क्षेत्रबाट भुषालसँग प्रतिष्पर्धा गरेका कांग्रेस केन्द्रीय सदस्य मदन अमात्यदेखि केन्द्रीय सदस्यहरु जीतजंग बस्नेत, उर्मिला नेपाल केसी, धना खतिवडामध्ये एक जनाले पनि टिकट पाउने सम्भावना छैन ।

पूर्वउपसभामुख तथा कांग्रेसकी पूर्वकोषाध्यक्ष चीत्रलेखा यादव र माओवादीबाट निर्वाचित सांसद सुरेशचन्द्र दासले सिरहाको क्षेत्र नम्वर २ बाट उम्मेदवारीको दाबी गरेका छन् । अघिल्लो चुनावमा दास निर्वाचित भए भने यादव कांग्रेसकबाट समानुपातिक सांसद भएकी थिइन् । कांग्रेसले समानुपातिकमा दोहोर्याएर सांसद नबनाउने भएपछि यादव प्रत्यक्षमा उठ्न चाहन्छिन । तर माओबादीले साे क्षेत्र नछाड्दा यादवले टिकट पाउने सम्भावना छैन ।

पार्टीका पूर्वसहमहामन्त्री सुनिलबहादुर थापाले एउटा मात्र निर्वाचन क्षेत्र भएको धनकुटाबाट प्रत्यक्षमा उठ्ने दाबी गरेका छन् तर गठबन्धनमा आबद्ध जसपाबाट गठबन्धनको टिकट निर्धारण कार्यदलमा सदस्य भएका रकम चेम्जोङ र माओबादीका हरि अधिकारीले दाबी गरेपछि थापाको उम्मेदवार बन्ने सम्भावना पनि कठिन देखिन्छ ।

कांग्रेस पुराना नेता नेता बलबहादुर केसी र माओवादी सांसद हेमकुमार राई दुवैले सोलुखुम्वुबाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार हुने दाबी गरेका छन् । अघिल्लो निर्वाचनमा उनै राईले नेता केसीलाई पराजित गरेका थिए । अब एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुबाट माओबादीका उनै राईले टिकट पाउने सम्भावना छ । जसले गर्दा अर्का केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले पनि टिकट पाउने सम्भावना देखिदैन ।

नेकपा एसका नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आले पुनः डोटीबाट प्रतिनिधिसभाको चुनावमा प्रत्ष्क्ष तर्फ उम्मेदवार हुने दाबी गरेका छन् । जसले गर्दा स्थानीय तहको निर्वाचनमा कांग्रेसले दुई तिहाई बढी स्थानीय तहमा जित हासिल गरेको डोटीबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार हुन चाहेका सुदूरपश्चिम प्रदेश सभापति बीरबहादुर बलायरले अन्य अवस्था यथाबत रहेमा टिकट पाउने अवस्था छैन ।

माओबादी नेता मातृका यादव धनुषा क्षेत्र नम्वर १ बाट निर्वाचित सांसद हुन् । तर यो क्षेत्रबाट कांग्रेस नेता तथा संसदीय दलका पूर्वमुख्य सचेतक आनन्द ढुंगानाले यो क्षेत्रबाट टिकट पाउने सम्भावना छैन । युवा नेता अरबिन महतोले समेत यही क्षेत्रबाट प्रत्यक्षतर्फ दाबी गरेका छन् ।

माओबादी नेता शक्तिबहादुर बस्नेत एक मात्र निर्वाचन क्षेत्र रहेको जाजरकोटबाट पुनः प्रत्यक्षमा उम्मेदवार बन्न चाहेका कारण कांग्रेसका केन्द्रीय सदस्य लोकप्रीय नेता राजिप शाहले टिकट पाउने सम्भावना छैन ।

कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल र माओबादी सांसद शिवकुमार मण्डल केवट दुवैले मोरङको ५बाट उम्मेदवारी पाउनु पर्ने दाबी गर्छन । तर गठबन्धन हुनासाथ सो क्षेत्रबाट मण्डलले पुनः दाबी गरेकाले सभापति देउवाका विश्वास पात्र भए पनि अर्यालले  टिकट पाउने सम्भावना छैन ।

मोरङ क्षेत्र नम्वर २ मा कांग्रेस नेतृ सुजाता कोइराला र सांसद डा. मिनेन्द्र रिजालले प्रत्यक्षतर्फ दाबी गरेका छन् । यहाँ कोइराला र रिजालमध्ये एकले टिकट पाउने सम्भावना छ ।

मोरङकै क्षेत्र नम्वर ४ बाट पूर्वअर्थमन्त्री महेश आचार्यले पुनः प्रत्यक्षतर्फ उम्मेदवार बन्ने दाबी गरेका छन् । त्यही क्षेत्रबाट नेविसंघका पूर्वअध्यक्ष गुरुराज घिमिरेले पनि दाबी गरेका छन् । तर, मोरङको क्षेत्र नम्वर ४ बाट अघिल्लो पटक आचार्यलाई पराजित गरेका माओबादी सांसद अमनलाल मोदी दाबी छाड्ने पक्षमा नहुँदा कांग्रेसबाट दुवै नेताले टिकट पाउने सम्भावना छैन।

कांग्रेसको कर्णाली प्रदेश सभापति ललितजंग शाही जुम्लाको एक मात्र निर्वाचन क्षेत्रबाट संघीय संसदमा प्रतिष्पर्धा गर्ने चाहना राखेका छन् । तर, सोही क्षेत्रबाट माओबादीका निर्वाचित सांसद गजेन्द्रबहादुर महतले पनि निरन्तरताको दाबी छाडेका छैनन् । त्यसैले त्यहाँबाट उनको प्रतिनिधिसभामा जाने सम्भवना देखिँदैन ।

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य राधेचन्द्र यादवले बारा २ मा उम्मेदवार हुने दाबी गरेका छन् तर जसपाका महामन्त्री तथा सांसद रामसहाय प्रसाद यादव सोही क्षेत्रबाट निर्वाचित भएकाले गठबन्धन हुँदा राधेचन्द्रले बारा २ मा जसपालाई सिट छाड्नु पर्ने स्थिति देखिएको छ ।

कांग्रेसका महेन्द्रकुमार राय यादवले महोत्तरी ४बाट प्रत्यक्षतर्फ प्रतिनिधि सभामा उम्मेदवार बन्ने चाहना राखेका छन् । तर सोही क्षेत्रबाट जसपाका निर्वाचित सांसद सुरेन्द्रकुमार यादवले दाबी नछाडेपछि महेन्द्र रायले टिकट नपाउने सम्भावना देखिन्छ ।

कांग्रेस केन्द्रीय सदस्य सीता गुरुङले एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुमबाट संघीय संसदमा प्रतिष्पर्धाको लागि दाबी गरे पनि स्वास्थ्य मन्त्री तथा नेकपा एसका सांसद भवानीप्रसाद खापुङका कारण गुरुङले टिकट पाउने सम्भावना छैन ।

दाङको क्षेत्र नम्वर १ बाट कांग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरी र पार्बता डीसी चौधरी तथा पूर्वसांसद सुशीला चौधरीले टिकटको लागि दाबी गरेका छन् तर शहरी विकास मन्त्री तथा नेकपा एसका नेता मेटमणि चौधरी सोही क्षेत्रबाट निर्वाचित सांसद भएकाले उनैलाई कांग्रेसले सघाउनु पर्ने स्थिति छ । जसले गर्दा कांग्रेसका केन्द्रीय सदस्यद्वयले टिकट पाउने सम्भावना छैन ।

कांग्रेस केन्द्रीय सदस्य दिपक गिरी दाङको क्षेत्र नम्वर ३ बाट उम्मेदवार बन्ने दाबी गरेका छन् । तर सोही क्षेत्रबाट नेकपा एसका सांसद तथा मन्त्री हिराचन्द्र केसी भएकाले उनले टिकट पाउने सम्भावना छैन ।

कांग्रेस नेता तथा नेविसंघका पूर्वमहामन्त्री उमेशजंग रायामाझी एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरबाट प्रतिनिधिसभामा प्रतिष्पर्धाको लागि टिकटको दाबेदार हुन तर विगत तीन पटक भोजपुरबाट संघीय संसदमा निर्वाचित हुँदै आएका माओवादी सांसद सुदन किराँति यस पटक पुनः उम्मेदवारीको दाबी गरेपछि रायामाझीले टिकट पाउने सम्भावना छैन ।

प्रतिनिधि सभाका सभामुख अग्नीप्रसाद सापकोटा निर्वाचित भएको सिन्धुपाल्चोक क्षेत्र नम्वर १ मा माओवादीले दाबी नछाड्ने भएपछि कांग्रेस नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सोही क्षेत्रबाट उम्मेदवार बन्ने चाहना पुरा हुन निकै कठिन देखिन्छ ।

केन्द्रीय सदस्य गणेश लामाले काभ्रे १ बाट र मधु आचार्यले काभ्रे २ बाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ दाबी गरेका छन् । काभ्रे १ मा माओवादीका गंगाबहादुर तामाङ प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित सांसद भएकाले एउटा क्षेत्र मात्र कांग्रेसले पाउने सम्भावना छ । त्यसका लागि कांग्रेसकाे विजयकुमार गच्छदार समूहबाट लामाकाे नाम सिफारिस भएकाले माओवादीले काभ्रे १ मा दिएर वा प्रदेश सभामा २ सिट दिएर सहमति हुने सम्भावना रहेकाे छ ।

गोरखाको क्षेत्र नम्वर १ बाट सुरेन्द्रराज पाण्डे र चिनकाजी श्रेष्ठले उम्मेदवारीको दाबी गरे पनि अघिल्लो चुनावमा माओबादीका हरिराज अधिकारी विजयी भएकाले कांग्रेसका दुबै नेताले गोरखा १ बाट टिकट पाउन कठिन देखिन्छ ।

जसपा परित्याग गरी नेपाल समाजबादी पार्टीको अध्यक्ष बनेका सांसद महिन्द्र राय यादवको सर्लाही २ बाट पुन उम्मेदवार बन्ने चाहनाका कारण कांग्रेस नेताहरु जंगीलाल राय र नागेन्द्र रायले दाबी गरे पनि टिकट पाउने सम्भावना छैन ।

केन्द्रीय सदस्यहरु जिपछिरिङ लामा, कुन्दन काफ्ले, अजयबाबु शिवाकोटीले एक मात्र निर्वाचन क्षेत्र भएको दोलखाबाट टिकटको दाबी गरेका छन् तर त्यहाँ जिल्ला सभापति बर्मा लामाको दाबी रहेकाले तीनै जना केन्द्रीय सदस्यले टिकट पाउने सम्भावना कम छ ।

नेता पद्म नारायण चौधरीले सिरहा, गण्डकी प्रदेशका मुख्यमन्त्री तथा केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली र सीता देवकोटाले नवलपुर १बाट, ध्रुव वाग्लेले तनहुँ २ बाट, अम्बिका बस्नेतले काठमाडाै ३ बाट, राधा घलेले काठमाडौं ४ बाट, मीन विश्वकर्मा, लक्ष्मी खतिवडाले सुनसरी १ बाट, सांसद मिनक्षी झाले धनुषाबाट, सांसद सुजाता परियार इलामबाट, श्याकुमार घिमिरे, उज्जवल बराल, मोहन बराल र सुशिला थिङले सिन्धुलीबाट र डिला संग्रौलाले मोरङबाट टिकटको दाबी गरे पनि उम्मेदवार बन्ने सम्भावना छैन ।

यस्तै लक्ष्मी परियारले उदयपुर १ बाट, ध्यानगोविन्द रञ्जित र नानु बास्तोलाले काठमाडौं ९ बाट, कल्याणी रिजालले काठमाडौं १० बाट, रुक्मिणी कोइराला, भिम पराजुलीले मोरङबाट टिकटको दाबी गरे पनि सम्भावना छैन ।

यस्तै कर्णबहादुर बुढाले डोल्पाबाट दाबी गरे पनि त्यहाँ नेकपा एसका सांसद धनबहादुर बुढालाई, जीबनबहादुर शाही, रंगमति शाहीले हुम्लामा माओबादी केन्द्रका छक्कबहादुर लामालाई छाड्नु पर्ने देखिएको छ ।

यस्तै दाङका कृष्णकिशोर घिमिरे, गेहेन्द्र गिरी, कञ्चनपुरका यज्ञराज जोशी, भक्तपुरकी रमा कोइराला, पौडेल, मदन कृष्ण श्रेष्ठ, गंगालक्ष्मी अवालले टिकट पाउने सम्भावना छैन ।

सुनसरीकी सुशिला चौधरी, दाङकी शिला शर्मा, चितवनका टेक प्रसाद गुरुङ, उदयपुरका नारायणबहादुर कार्कीले भने प्रत्यक्षतर्फको उम्मेदवारको दाबी गरेका छैनन् ।

राजिप कोइराला र राजिप ढुंगानाले सुनसरी २बाट दाबी गरेकाले एक जनाले पाउने सम्भावना छ भने प्रदीपकुमार सुनुवारले ओखलढुंगाबाट, चन्द्रबहादुर केसीले गुल्मीबाट, नैनसिंह महरले डडेल्धुराबाट, सुशिला भट्ट र नृप वडले कैलालीबाट टिकट पाउने सम्भावना देखिदैन ।
मुक्ताकुमारी यादवले धनुषाबाट, मैकुलाल बाल्मिकीले बाँकेबाट, सरस्वती बजिमय र सुवास पोखरेलले खोटाङबाट उम्मेदवारको चाहना राखे पनि सम्भावना छैन ।

चम्पादेवी खड्काले बागलुङ, मञ्जु खाँणले सिरहाबाट, गुरु बरालले काश्कीबाट, प्रतिमा गौतमले काठमाडौ २ बाट, नागिना यादव, मञ्जुकुमारी यादवले महोत्तरीबाट दाबी गरे पनि टिकट पाउने सम्भावना छैन ।

अर्जुनजंगबहादुर सिंह र प्रकाश रसाइली स्नेहीमध्ये एक जनाले बझाङबाट पाउने सम्भावना छ भने जावेदा खातुन जागाले बर्दियाबाट, हरिशरण नेपालीले काठमाडौंबाट, जानकी सिंहले सुर्खेतबाट, दिनेश कोइरालाले चितवनबाट,  माया राईले भोजपुरबाट, सीताकुमारी रानाले दैलेखबाट दाबी गरे पनि पार्टी भित्रैबाट टिकट पाउने सम्भावना छैन ।

कान्तिका सेजवालले जुम्लाबाट प्रत्यक्षमा उठ्ने चाहना गरे पनि माओबादी केन्द्रका सांसद गजेन्द्रबहादुर हमालका कारण उनले टिकट पाउने सम्भावना छैन ।

रुपा बिकले कपिलबस्तु, शान्ति परियारले चितवन, जीवन रानाले कैलाली र उर्मिला थपलियाले धादिङबाट प्रतिनिधिसभा तर्फ उम्मेदवार बन्न पार्टीबाटै टिकट पाउने सम्भावना छैन ।

प्रतिक्रिया