

बबई नदी सतर्कता तह नजिक, बहाव बढ्ने क्रम जारी

काठमाडौं- देशका विभिन्न ठाउँमा आज बिहानैदेखि वर्षा भइरहेको छ। कतिपय भू–भागमा गएराति देखि नै पानी परिरहेको छ।
बबई नदी जलाधारको चेपाङ, धनवास र आसपास पछिल्लो तीन घण्टादेखि भारी वर्षा भइरहेको छ। बबई नदी चेपाङमा आकस्मिक बहाव भई जलसतह सतर्कता तह आसपास पुगेको छ । र, बहाव बढ्दो क्रमका रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। बबई तटीय क्षेत्र र बर्दियाको डुवान भइरहने होचा स्थानमा बिहान १० बजेसम्म सतर्कता अपनाउन महाशाखाको आग्रह छ।
बाराको निजगढ र आसपासको क्षेत्रमा पछिल्लो पनि भारी वर्षा मापन भएको छ। सो क्षेत्र भई बहने स–साना नदीहरूमा आकस्मिक बहाव हुनसक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहनेले उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ।
सप्तरीको बरमझिया र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ। सो क्षेत्र भई बहने स–साना नदीहरूमा आकस्मिक बहाव हुनसक्ने हुनाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहनेले उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ।
गोरखाको बारपाक र आसपासको क्षेत्रमा पनि भारी वर्षा भएको छ। दरौंदी नदी र अन्य स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने तथा कमजोर भिरालो जमिनमा पहिरो जानसक्ने भएकाले तटीय क्षेत्रमा हुनेहरूले बिहानसम्म उच्च सतर्कता अपनाउनु पर्नेमा महाशाखाको जोड छ।
आज दिउँसो मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । प्रदेश–१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा आज राति भारी वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

