बुधबार सहमति नजुटेपछि सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै


काठमाडौं- सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्ने भएको छ। बुधबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि सहमतिको प्रयासका लागि आज पुनः बैठक बस्न लागेको हो।

बुधबार साँझ बालुवाटारमा बसेको बैठक कुनै ठोस निर्णय नगरी सकिएको थियो। राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरीका अनुसार नेताहरूले आआफ्नो दाबी नछाडेपछि कार्यदलको बैठक पटकपटक निष्कर्षविहीन बन्दै आएको छ।

नेपाली कांग्रेसले १०० सिटमा दाबी गरिरहेको छ। माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरिरहेको छ।

कांग्रेस नेताहरूले सार्वजनिक रूपमै १०० सिटबाट तल नझर्ने अभिव्यक्ति दिइरहेका छन्। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि सबै सिट आफू राखेर ‘उब्रिएको सिट’ दिए स्वीकार्य नहुने बताएका छन्।

गत सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सार्वजनिक कार्यक्रममै आफूहरूले प्रतिनिधिसभामा ६० सिट र प्रदेशसभामा १२० सिट दाबी गर्ने बताएका थिए।

उनले बुधबारसम्म सिट बाँडफाँटको टुंगो लगाइसक्ने पनि बताएका थिए। तर, दलहरूबीच सहमति जुट्न सकेको छैन। आआफ्नो अडान नछोड्दा पाँच दलीय सत्ता गठबन्धनलाई सिट बाँडफाँटमा झन् सकस परिरहेको छ। गठबन्धनमा शीर्ष तहमा पनि छलफल भइरहेको छ । यद्यपि, सहमति जुट्न भने सकेको छैन।

 

प्रतिक्रिया