

आर्जुले त्यसैबेला भनेकी रहिछन्– प्रचण्डलाई विश्वास नगर्नू! भित्री कथा यस्तो छ

काठमाडौं– मुलुकको राजनीतिक अवस्थाले अर्कोतिर कोल्टे फेर्दा नेपाली कांग्रेस निर्णायक शक्तिका रुपमा उदय भएको छ। प्रतिनिधि सभा विघटन भएपछि चुनावमा जाने कि पुनःस्थापनाको आन्दोलनमा जाने भन्ने विषयमा कांग्रेस सर्वोच्च अदालतको फैसला कुरेर बसिरहेको छ।
सभापति शेरबहादुर देउवाले अहिले कुनै पनि निर्णायक घोषणा गरेका छैनन्। बरु, अदालतमा भएको विषयमा नबोल्ने बताएका छन्। कांग्रेसले वडा तहसम्म विरोध कार्यक्रम र चुनावी प्रचार दुवैलाई बलियो बनाएको छ।
केन्द्रीय राजनीतिमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल भने देउवाको साथ खोजीरहेका छन्। चुनावमा जाने कांग्रेसको निर्णय ओलीले पर्खिरहेका छन् भने पुनःस्थापनाको आन्दोलनमा जाने र सरकारको नेतृत्वका लागि प्रचण्डको प्रस्ताव नै परिसकेको छ।
एउटा अन्तरवार्ताका क्रममा प्रचण्डले त देउवालाई प्रधानमन्त्री स्वीकार गर्न सकिने भनी अर्को पासा फ्याँकिसकेका छन्। तर कांग्रेस जन नै प्रचण्डको यो राजनीतिक चरित्रप्रति अन्यौलग्रस्त रहेको बताइन्छ।
‘उता रामचन्द्र जीलाई भेटेर राष्ट्रपति दिन्छु भन्ने यता शेरबहादुरलाई भेटेर प्रधानमन्त्री दिन्छु भन्ने। अनि, प्रचण्ड साधु भएर बस्लान् त?’, कांग्रेसका एक जना केन्द्रीय सदस्यले भने,‘अहिले ओलीलाई गलाउनका लागि आएका यी प्रस्ताव औचित्य हिन छन्।’
राजनीतिक रूपमा प्रचण्ड उपयोगवादी रहेको भन्ने देउवाले जानकारी पाइसकेको ति सदस्यले भने। उनका अनुसार तत्कालिन कांग्रेस सभापति गिरीजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउँछु भनेर वाचा गरेका प्रचण्डले त्यहि बेला बुढानिलकण्ठमा नबोलाए पनि देउवासँग रात्री भोजन गर्दै प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए। त्यसैबेला देउवापत्नी आर्जु राणाले भनेकी थिइन्,‘यी प्रचण्ड निक्कै चलाख छन्। राजनीति नै डामाडोल बनाउँछन्, यीनलाई विश्वास नगर्नू है!’
प्रधानमन्त्री ओलीले पनि बारम्बार प्रचण्डको यस्तो चरित्रको विषयमा उल्लेख, टिप्पणी र व्यंग्य मात्र गरेका छैनन्, ३८ बुँदे उत्तरमा पनि लेखेका छन्। ‘त्यसबेला कांग्रेससँग गठजोडको सरकारमा पनि बस्ने र प्रतिपक्षीसँग चुनावी तालमेल पनि गर्ने तपाईको दोहोरो चरित्र थिएन र?’, ओलीले उल्लेख गरेका थिए।
अहिले देउवालाई सुझाव दिने उपसभापति विमलेन्द्र निधिलगायत उनका नजिकका नेताले भन्छन्,‘प्रचण्डले त्यसबेला हामीलाई त धोका दिएका हुन् नि, अब चुनावमा नै जानुपर्छ।’
प्रचण्डले आफू अप्ठेरोमा परेपछि सहजीकरणका लागि यस्ता अनेक हर्कत गर्दै आएको ओली खेमाका नेताहरूले पनि बताउँदै आएका छन्। ‘माधव नेपाललाई कर्नरमा राखेर अगाडि बढ्नुपर्छ भनी ईश्वर पोखरेलको घरमा खाना खानेगरी प्रचण्ड पुगेका थिए’, एक नेताले भने,‘उनको उक्त शैली देखेपछि ईश्वर पोखरेल आफैं तीन छक्क परेको चर्चा परिवारमा गरिएको थियो।’

