

माधव नेपाल भन्छन्– ओलीले त हाम्रो बिजोगै पारे नि!

काठमाडौं– ‘मनको बह कसलाई कह! भन्ने अवस्थामा पुग्यौं’, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड खेमाका अर्का अध्यक्ष माधवकुमार नेपालले बुधबार गुनासो पोख्दै भने,‘ओलीका कारण अनेक हण्डर खायौं।’
प्रधानमन्त्री केपी शर्मा ओलीको उनले सम्पादकहरूसँग चर्को आलोचनासहित गुनासो गरेका थिए।
प्रचण्डले पनि यस्तै समस्या भोगेको उनले सम्पादकलाई सुनाए। उनले अगाडि थपे,‘ओलीबाट धेरै पीडा र दुःख पायौँ। ओलीले एकताको प्रस्ताव ल्याएपछि उनको पेलान र हेपाहा प्रवृतिबाट मुक्ति पाइने आशा थियो तर एकतापछि फेरि विधि मिचियो, हामीलाई पेलियो, हेपियो दिनुसम्म दुख दिए।’
पार्टीको विधि मिचेर अस्पताल, बालकोटलगायतका अनेक ठाउँमा बैठकमा जानु परेको गुनासो सुनाएका उनले अहिले ओलीमुक्त भएर आनन्द आएको बताए। यति मात्र होइन, प्रधानमन्त्री ओलीले आफू र प्रचण्डलाई जेल हाल्ने योजना बनाएको समेत बताए।
उनले भने,‘बालुवाटारस्थित ललिता निवास जग्गा विक्री प्रकरणमा मलाई र प्रचण्डजीलाई जेल हाल्ने योजना बनाएका थिए। पहिलो नम्बरमा मलाई जेल कोचेपछि प्रचण्डलाई जेल हाल्ने योजना बनाइसकेका थिए। ललिता निवास प्रकरण त्यहीँको योजनाबाट आएको थियो।’
उनले ओली र आफू उस्तै नभएको बताउँदै जोडे,‘त्यसो भन्दा मलाई भित्रैबाट पोल्छ।’

