

आज टुंग्याउलान् गठबन्धन दलले सिट बाँडफाँट?

काठमाडौं- सत्ता गठबन्धनले प्रतिनिधि सभाको सिट बाँडफाँट आज टुंग्याउने अन्तिम तयारी गरेको छ। यसका लागि साँझ ५ बजे गठबन्धनको बैठक बस्दै छ। गठबन्धनका शीर्ष नेताहरूको बैठक अगाडि आजै दलहरूले आ–आफ्नो पार्टीमा छुट्टाछुट्टै छलफल गर्दै छन्।
नेपाली कांग्रेसले शीर्ष नेताहरूको बैठक बिहान ९ बजेका लागि बालुवाटारमा बोलाएको छ। बैठकले कांग्रेसले कति सिट राख्ने भन्ने विषयमा पार्टीको एकीकृत धारणा तय गर्नेछ।
सिट बाँडफाँटका लागि दलहरूले ११ सदस्यीय कार्यदल गठन गरेका थिए। नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलले सहमति जुटाउन नसकेपछि पुनः शीर्ष तहले नै निर्णय गर्न लागेको हो।

