नेपालकी सुनमाया फ्रान्समा उपविजेता


ब्रसेल्स – फ्रान्समा हालै भएको विश्वकै प्रतिष्ठित अल्ट्रा रेस मोन्ट ब्लांक (यूटीएमबी) को १०० किमि दौडमा नेपालकी सुनमाया बुढामगर दोस्रो भएकी छन् । नेपालको विकट जिल्ला जुम्लाकी २३ वर्षीया बुढामगरले ‘दि नर्थ फेस एडभेन्च’ क्लबका लागि खेलेकाे दौडको दूरी ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा पूरा गरेकी हुन् ।

उनी फ्रान्सकै ब्लेन्डिन ल हिरोन्डेलीसँग पछि परेकी थिइन् । हिरोन्डेलीले निर्धारित दूरी ११ घण्टा ४४ मिनेट ५५ सेकेन्डमा पार गरेकी थिइन् । तेस्रो भएकी अमेरिकाकी घाविका अबी हलले निर्धारित दूरी १२ घण्टा १२ मिनेट ५६ सेकेन्डमा पूरा गरेकी थिइन् ।

बाल्यकाल देखिनै दौडमा लगाव राख्ने बुढामगर जुम्लाकै स्कुल स्थरीय छोटो र लामो दूरीका प्रतियोगिताहरुमा विजेता बन्दै आएकी थिइन् । उनी कर्णाली स्पोर्ट्स क्लब जुम्लामा रहेर आफ्नो तालिम पनि लिँदै आएकी थिइन् ।

सन् २०१६ मा काठमाडौंको गोदावारी ट्रेल रनिङमा पहिलो पटक भाग लिनुभएकी बुढामगरको दौडकला राम्रो देखेर विश्व चर्चित अल्ट्रा धाविका मिरा राईले काठमाडौं बस्न र तालिमको अवसर जुटाई दिएकी थिइन् । तर छोरीले गाउँ छाडेर काठमाडौं गएको बुढामगरको परिवारलाई मन परेको थिएन । आफुले विस्तारै सफलता हात पारेपछि बाबाआमा समेत खुसी भएको बुढामगरले बताइन् ।

विश्वको कठिन दौडमा सबै विधामा गरि २५ सय भन्दा बढी खेलाडी सहभागी हुने गर्छन् । यसअघि बुढामगरले सन् २०१७ मा पनि मोन्ट ब्लांक ८० किमि दौडमा सहभागिता जनाउँदा सातौं स्थान हासिल गरेकी थिइन् । उनले सन् २०१७ मा हङकङ र थाईल्याण्डमा सलोमोन योंग एकाडेमीको लागि छनोट भएर ट्रेनिङ पनि लिएका थिए । त्यहाँ बुढामगरले ११० किमि दौड समेत जितेकी थिइन् ।

उनलाई अहिले विश्व चर्चिच ट्रेड मार्क नर्थ फेसको टिममा अनुबन्ध गरेको छ । बुढामगर ‘मिरा राई इनिसीएटिभ ‘को पहिलो छात्रा पनि हुन् । हाल फ्रान्समै रहेकी मिरा राईले नेपालमा हजारौं सुनमायाहरु रहेको र अवसर बनाएको बताइन् । राईले भनिन्, ‘हामी उनीहरुको खोजी, प्रतिभाको पहिचान, प्रोत्साहन र अवसर खोज्ने काम गर्नेछौं ।’

प्रतिक्रिया