‘म जिउँदै छु’, आफू बाँचिरहेको साबित गर्दा हैरानी


काठमाडौं – फ्रान्समा एक महिलाले विगत तीन वर्षदेखि आफूलाई जिउँदो रहेको साबित गर्न हैरानी खेप्नुपरेको छ । जीन पूचाँ नामक ती महिला फ्रान्सको प्रशासनिक रेकर्डमा विद्यमान छैनन् किनकि एक अदालतले सन् २०१७ मा उनलाई मृत घोषणा गरेको छ ।

उनले आफ्नो क्लीनिङ कम्पनीमा पूर्व कामदारसँग कानूनी लडाइँ लडेकी थिइन् । स्थानीय संवाददाताहरूसँग कुरा गर्दै पूचाँले यस विषयमा वकिलसँग कुरा गर्न जाँदा यसलाई छिट्टै हल गरिने बताएको तर अहिलेसम्म नभएको जानकारी दिइन् ।

पूचाँको यस्तो समस्याका कारण उनी र उनका पति र छोराले संयुक्त बैंक खाता चलाउन पाएका छैनन् । उनको परिचयपत्र, सवारी चालक अनुमतिपत्र र स्वास्थ्य बीमा समेत रद्द भएको छ ।

तिर्न बाँकी रहेको ऋणका कारण अधिकारीहरूले कार जफत गरेको र फर्निचर पनि लैजाने उनी बताउँछिन् । सन् २०१७ मा लियोनको एक अदालतले पूचाँलाई मृत घोषित गरेको थियो यद्यपि मृत्यु प्रमाणपत्र उपलब्ध गराइएको थिएन ।

पूचाँको क्लीनिङ कम्पनीकी एक कामदारले २० वर्षअघि जागिर गुमाएकोमा क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेकोमा सन् २०१७ को नोभेम्बर महिनामा अदालतको फैसला आएको थियो ।

पूचाँ र उनका वकिलले एकपछि अर्को न्यायिक त्रुटि भएकाले सन् २०१७ मा पूचाँलाई जीवित नरहेको भनी फैसला दिएको थियो । आफू र आफ्ना नातेदारलाई सुनुवाइको लागि समन जारी नगरिएकोले कानूनी लडाइँ नै अनौठो लागेको उनी बताउँछिन् । पूर्व कर्मचारीले मृत्युको हौवा फैलाएर आफ्नो जायजेथामा दाबी गर्न खोजेको उनी बताउँछिन् ।
एजेन्सी

प्रतिक्रिया