भक्तपुर–२ मा कांग्रेसका कविर राणाको चर्चा


भक्तपुर – आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको मिति दिनप्रतिदिन नजिकिँदै छ ।

यसैबीच विभिन्न राजनीतिक दलहरुले उम्मेदवार चयनको प्रक्रिया सुरु गरिसकेका छन् । सत्तारुढ दलहरु गठबन्धनकै विषयमा अल्मलिइरहेको बेला आम मतदाता भने निर्वाचनप्रति उत्साहित देखिएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रबाट कुन राजनीतिक दलबाट को उम्मेदवार भन्ने चर्चा चलिरहेको नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गर्न जिल्ला तथा क्षेत्रीय समितिलाई निर्देशन दिएसँगै कांग्रेसवृत्तमा उम्मेदवारहरुबारे चर्चा सुरु भएको छ ।

उम्मेदवारहरुको चर्चा हुने क्रमसँगै उपत्यकाको भक्तपुर क्षेत्र नं. २ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा वरिष्ठ पत्रकार कविर राणा उम्मेदवार बन्ने चर्चा छ । यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले जित हात पारेको उक्त क्षेत्रका मतदाताले यसपटक फरक उम्मेदवारलाई जिताउने मनशायमा रहेका छन् । गत निर्वाचनमा एमाले नेता महेश बस्नेतले जितेको सो क्षेत्रमा एमालेको गढ भत्काउन राणा नै उपयुक्त उम्मेदवार हुने भक्तपुर कांग्रेसका अधिकाशं नेता कार्यकर्ताको बुझाई छ ।

४ दशकभन्दा लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय राणा ३ दशकभन्दा बढी समय पत्रकारिता गरेका  गरेका छन् । राणा स्पष्ट वक्ता र जनताको भावना अनुसार काम गर्ने नेताका रुपमा परिचित छन् । यहीकारण गत स्थानीय निर्वाचनमा राणाको प्रभाव रहेको सूर्यविनायक नगरपालिकाको वडा नम्बर २ र ३ मा कांग्रेसले शानदार जित हासिल गरेको थियो ।

२०३६ सालमा नेपाल विद्यार्थी संघ हुँदै राजनीतिमा प्रवेश गरेका राणा २०४९ को स्थानीय निर्वाचनबाट जिल्ला विकास सदस्यमा निर्वाचित भएका थिए । राजनीतिक जीवनमा पटक–पटक जेलजीवन बिताएका राणा प्रधानसम्पादक रहेको देशान्तर मिडिया नेपालकै अग्रणी सञ्चारमाध्यममा पर्दछ । शाही शासनका बेला पत्रिका छाप्दैपिच्छे सरकारी अड्डामा बयान दिनुपरेपनि लोकतन्त्रको पक्षमा राणाले निर्भिकताका साथ कलम चलाएका थिए ।

पत्रकारिता र प्रत्यक्ष राजनीतिमार्फत कांग्रेस र लोकतन्त्रको पक्षमा काम गरेका राणालाई यसपटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउन जिल्लादेखि केन्द्रसम्मका अधिकांश नेता सकरात्मक छन् । बस्नेतलाई हराउन राणाजत्तिकै प्रष्ट र आँटिलो नेता चाहिने भक्तपुर २ का एक कांग्रेस नेताले बताए ।

‘उहाँ जनताको पक्षमा खरो बोल्ने, अन्याय नसहने, लोकतन्त्रका लागि संघर्ष गरेको र पत्रकारिताबाट पनि मुलुकलाई योगदान गरेको व्यक्ति हुनुहुन्छ । भक्तपुर २ मा कांग्रेसको झण्डा गाड्न कबिरजीलाई नै उम्मेदवार बनाउनुपर्छ’, भक्तपुर कांग्रेसका एक नेताको भनाई छ ।

यसअघिका सबैजसो निर्वाचनमा उम्मेदवार बन्न राणाको नाम सिफारिस हुँदै आएको थियो । सक्रिय पत्रकारितामा समेत रहेका राणाले आफू उम्मेदवार नहुँदापनि कांग्रेसको प्रचार–प्रसारको महत्वपूर्ण जिम्मेवारी पूरा गर्दै आएका थिए । यसपटक भने कांग्रेसबाट राणालाई नै उम्मेदवार बनाउन दवाव छ । गठबन्धनमा रहेका माओवादी र एकीकृत समाजवादी लगायत दलका स्थानीय नेताहरुपनि राणा उम्मेदवार हुँदा जित सहज हुने निष्कर्षमा छन् ।

प्रतिक्रिया