
विवेकशील साझाका सात जना केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग
काठमाडौँ- विवेकशील साझा पार्टीलाई संस्थापक सदस्य विराजभक्त श्रेष्ठलगायत सात केन्द्रीय सदस्यले त्याग गरेका छन्। अन्य ६ केन्द्रीय सदस्यहरू जमुना शर्मा, राज्यलक्ष्मी श्रेष्ठ, रोशनी अधिकारी, सस्मित पोखरेल, श्रीकृष्ण श्रेष्ठ र सुदन मानन्धर रहेका छन्। पार्टीबाट राजीनामा दिए पनि अहिले आफूहरुले अन्य कुनै दलमा सहभागी हुने निर्णय लिनसकेको वागमती प्रदेशका सांसद समेत रहेका विराजभक्त श्रेष्ठले बताए।
विवेकशील साझा त्यागेपछि अहिले आफू स्वतन्त्र रहेको उनको भनाइ छ । उनीहरूले हिजो ललितपुरको बखुण्डोलस्थित केन्द्रीय पार्टी कार्यालयमा दर्ता गराएको राजीनामा पत्रमा अपेक्षाअनुसार विवेकशील साझाले काम गर्न नसकेका कारण राजीनामा दिएको जनाइएको छ।
राजीनामा पत्रको व्यहोरा छ, ‘पद्धति, पारदर्शिता, इमानदारी, उत्कृष्टता जस्ता मूल्य र मान्यताका साथ सुसंस्कृत राजनीति र समतामूलक समृद्धिलाई संस्थागत गर्न मूलधारे राजनीतिक दलहरूलाई चुनौती दिंदै विवेकशील साझा पार्टीको स्थापना भएको थियो। दुःखका साथ भन्नु पर्दा विवेकशील साझा पार्टीमा न त आफ्नै मूल्य र मान्यता पालना भएको पाइएको छ, न त सुसंस्कृत सहभागितामूलक राजनीति र समतामूलक समृद्धिलाई संस्थागत गर्ने प्रयास गरेको पाइएको छ ।’



कागजपत्र |
