


पाप पखाल्ने पर्व; पुटिनले चिसो पानीमा लगाए डुबुल्की

काठमाडौं – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन स्वास्थ्यका विषयमा चलेका हल्लालाई निराधार साबित गर्दै माइनस १७ डिग्री सेल्सियसमा हिउँ जमेको पानीमा नुहाएका छन् ।
रुसमा प्रचलित अर्थोडक्स क्रिस्चियानिटीमा जनवरी महिनामा मनाइने एपिफेनी नामक पर्वमा मानिसहरू चिसो पानीमा डुबुल्की लगाउने गर्छन् । धर्मनिष्ठ व्यक्तिका रूपमा पुटिनले चिसो पानीमा स्नान गरेका हुन् । ६८ वर्षीय पुटिन पूर्ण स्वस्थ देखिएका छन् ।
एपिफेनीको अवसरमा रुसीहरूले नदी वा तलाउमा हिउँले ढाकिएको पानीमा डुबुल्की लगाउने गर्छन् । यसै दिन जिसस क्राइस्टले जोर्डन नदीमा डुबुल्की लगाएको मान्यता छ ।
एपिफेनीको मध्यरातमा सबै पानी पवित्र बन्ने र मानिसका पाप पखालिने रुसीहरूको विश्वास छ । सोह्रौं शताब्दीदेखि चलेको यो परम्परालाई अनुसरण गर्दै पुटिनले पनि पाप पखालेका हुन् ।
पुटिनलाई पार्किन्सन्स रोग लागेको र सन् २०२१ को अन्त्यसम्ममा राजीनामा दिएर अर्को व्यक्तिलाई राष्ट्रपति बनाउन लागेको भनी बेलायतका टेब्लोइड पत्रिकाहरूले खबर दिएकोमा भ्रम चिर्नका लागि पुटिनले चतुरताका साथ एपिफेनीको अवसरलाई सदुपयोग गरेका हुन् । उनले नीलो प्यान्ट लगाएर डुबुल्की मारेका थिए ।
नीलो रंग पुटिनका विरोधी एलेक्सी नभाल्नीको रंग हो । नीलो रंगमा पानीमा डुबाएर उनले आफूसँग जोरी खोज्ने सबैलाई डुबाइदिने संकेत दिएका हुन् ।
एजेन्सी

