
अवैध ठहरिएको भारतकै सबैभन्दा अग्ला ‘ट्वीन टावर’ ध्वस्त
नोयडा – भारतको उत्तर प्रदेशस्थित नोयडामा अवैध रूपमा बनेको सुपरटेक ट्विन टावर आइतवार भत्काइएको छ । सर्वोच्च अदालतको आदेशपछि ३० र ३२ तले दुईवटा भवन ‘ट्विन टावर’ भत्काइएको हो ।
उक्त भवन भत्काउनका लागि ३ हजार ७०० किलोग्राम विष्फोटक पदार्थ प्रयोग गरिएको थियो । उक्त विष्फोटक पदार्थ भवनभरि कुल ९ हजार ६४० वटा दुलो बनाएर भरिएको थियो ।
उक्त दुई भवनमा जम्मा ९५० फ्ल्याट उपलब्ध रहेको थियो । उक्त भवन बनाउन करिब २०० देखि ३०० करोड रुपैयाँ खर्च भएको अनुमान गरिएको छ ।
आइतवार दिउँसो भारतीय समयअनुसार २ः३० बजे टावर भत्काइएको थियो । यसका लागि आसपासका घर र भवनहरू खाली गराइएको थिए भने, ती घरहरूको बीमा गरिएको छ ।
भवन भत्काउनु अघि त्यस क्षेत्रमा खाना पकाउने ग्यास र बिजुलीको आपूर्ति बन्द गरिएको थियो । स्थानीय सडकमा आवतजावत समेत बन्द गरिएको थियो । विस्फोट गराएर टावर भत्काएको छ । उत्तर प्रदेश प्रहरीले आसपासको क्षेत्र खाली गराउन आइतवार बिहान ७ बजेसम्मको समय दिएको थियो ।
सरकारी प्राधिकरण र घरजग्गा व्यापारीको मिलेमतोमा पटक–पटक नक्सा संशोधन गर्दै तला थप्दै गएपछि अदालतमा मुद्दा पुगेको थियो । व्यापारीले सरकारी संयन्त्रलाई भ्रष्टाचारमा लोभ्याउन सके पनि अदालतले स्थानीयलाई न्याय दिएको छ ।



कागजपत्र |
