


एमालेको चुनाव केन्द्रित केन्द्रीय समिति आजबाट सुरु

काठमाडौं — स्थायी कमिटी बैठकले तय गरेका १९ वटा एजेन्डामा छलफल गर्नका लागि नेकपा एमालेको केन्द्रीय समिति बैठक आज (शुक्रबार) सुरु हुँदैछ ।
आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको योजना, चुनावी घोषणा पत्रको तयारी, उम्मेदवार छनौटको मापदण्ड, स्थानीय तह निर्वाचनको क्रममा प्राप्त उजुरीका बारेमा निर्णय लिनेलगायतका एजेन्डामा छलफल गर्नका लागि आज केन्द्रीय समिति बैठक सुरु हुन लागेको हो ।
प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार बैठक दुई दिनसम्म चल्नेछ । बिहीबार बसेको पोलिटब्युरो बैठकले केन्द्रीय समितिका एजेन्डा तय गरेको थियो।

