कर्णाली राजमार्ग ३६ घण्टा अवरुद्ध हुने


मान्म – कर्णाली राजमार्गका दुई ठाउँमा ३६ घण्टा अवरुद्ध हुने भएको छ ।

कर्णाली राजमार्गमा बनेका पक्की पुलको भार क्षमता जाँच गर्नका लागि राजमार्ग अवरुद्ध गर्न लागिएको हो । कर्णाली राजमार्गअन्तर्गत दैलेख आठबिस नगरपालिका–५ घट्टेखोला पुल र कालीकोट नरहरिनाथ गाउँपालिका–८ को कर्णाली नदीमा बनेको पक्की पुलको भार क्षमता जाँच गर्नका लागि राजमार्ग अवरुद्ध हुने भएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाको पत्रअनुसार घट्टेखोलामा बनेको पक्की पुल भार क्षमता जाँच गर्नका लागि भदौ ७ गते मङ्गलबार बिहान ६ बजेदेखि करिब ३६ घण्टा बन्द हुनेछ ।

सडक डिभिजन कार्यालय, जुम्लाले अनिवार्य पुलको टेष्टिङ गर्नुपर्ने भनेकाले कर्णाली राजमार्ग अवरुद्ध हुने भएको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए । ‘प्राविधिक रुपले पुलका भार क्षमता जाँच गर्नुपर्ने रहेछ’, उनले भने, ‘भार क्षमता जाँच यातायात साधन बन्द गर्नुपर्ने भएका कारणले कर्णाली पुल र घट्टेखोला पुल क्षेत्रमा यातायात बन्द हुनेछन् ।’

राजमार्गको दुवैतर्फको आवातजावत बन्द रहने र यात्रु सवारी साधनलाई आवातजावतका लागि त्यही अनुसार व्यवस्थापन गर्न आदेश गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताए । ‘कर्णाली राजमार्ग बन्द रहने विषयमा जिल्ला प्रशासन कार्यालय कालीकोट, सुर्खेत, जुम्ला र मुगुलाई जानकारी दिइएको छ’, उनले भने, ‘यात्रुहरु त्यो समयमा असुविधा हुने भएको छ ।’

प्रतिक्रिया