

कांग्रेसलाई ‘मार्ग परिवर्तन’ गर्न रवीन्द्र मिश्रको सल्लाह

काठमाडौँ- विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले देशको हितमा भन्दै सत्तारुढ नेपाली कांग्रेसलाई सल्लाह दिएका छन्।
शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत उनले गठबन्धन सरकारको नेतृत्वकर्ता कांग्रेसलाई १० वर्ष सशस्त्र युद्ध गरेको माओवादीसँग मिलेकोप्रति रोष प्रकट गरेका हुन्।
‘देशको हितमा कांग्रेसलाई सल्लाह’ शीर्षकमा मिश्रले लेखेका छन्, ‘यदि कांग्रेसले बीपी राजमार्ग नछोडेको र बीपी कोइरालाको यो पुस्तक गाउँगाँउसम्म पुर्याएको भए आज कांग्रेसले चुनाव जित्न आफ्नै सदस्य तथा नेताको घाँटी रेट्ने र हातखुट्टा भाँच्नेहरूको वैशाखी टेक्नुपर्ने थिएन। पाँच/छवटा पार्टीको गठबन्धन गर्दा नि एक्लो एमालेसँग चुनाव हारिएला भनेर डराउनुपर्ने थिएन।’
उनको सल्लाह छ, ‘कांग्रेसले जति छिटो मार्ग परिवर्तन गर्यो त्यति छिटो कांग्रेस र देश दुवैको भलो हुनेछ। यो देशको दूरगामी हित हुनेछ। अन्यथा कांग्रेसले कसै न कसैको वैशाखी टेकिरहनुपर्नेछ। र, त्यसले देशलाई घाटा गरिरहने छ।’

