
किन हटाइँदै छ कलंकीको खसी बजार?
काठमाडौं- काठमाडौं महानगरपालिकाले कंलकीमा रहेको खसीबजार हटाउन निर्देशन दिएको छ। महानगरले बिहीबार एक सूचना जारी गर्दै सूचना प्रकाशित भएको १५ दिनभित्रमा खसी बजार सञ्चालन गर्ने व्यवसायीहरूले आफैं वैकल्पिक व्यवस्था गरी खसी बजार हटाउन निर्देशन दिएको हो।
भाटभटेनीसँगै बल्खु खोलामा जोडिएको जग्गामा खसी बजार सञ्चालन गरेका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातवरणमा गम्भीर असर परेको भन्दै स्थानीय वासीहरूले सामूहिक उजुरी दिएका थिए।
सोहीअनुसार महानगरले वातावरण सम्बन्धी अध्ययन प्रतिवेदन एवं वडाबाट प्राप्त पत्र समेतको आधारमा उक्त स्थानमा खसी बजार सञ्चालन गर्दा वरपरको वातावरणमा गम्भीर असर पर्ने, नदी प्रदूषण हुने र फोहोर मैलाबाट जटिल समस्या सिर्जना भइरहेको पाइएको बताएको छ।
वस्तीको बीचमा यस्ता प्रकृतिका व्यापार व्यवसायलाई निरुत्साहित गर्दै प्रत्येक नागरिकलाई स्वच्छ र स्वतन्त्र वातावरणमा बाच्न पाउने नेपालको संविधान २०७२ को धारा ३० को मौलिक हकको प्रत्याभूति र प्रचलन गर्न समेत आवश्यक भएकोले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११९२०ञ समेतका आधारमा यो सूचना प्रकाशित गरिएको सूचनामा उल्लेख छ ।
१५ दिन भित्र नहटाए कानून अनुसार हटाइने महानगरको भनाइ छ ।




कागजपत्र |
