काठमाडौं महानगरको २ अर्ब चार करोड बेरुजु फर्स्यौट


काठमाडौं — काठमाडौँ महानगरपालिकाको २ अर्व ४ करोड २७ लाख ७६ हजार ७०५ रुपैयाँ ९४ पैसा वेरुजु फर्स्यौट भएको छ । आर्थिक बर्ष ०७३÷०७४ देखि ०७६÷०७७ सम्म ४ बर्षको ४ अर्व ८२ करोड ५७ लाख ९९ हजार रकम वेरुजु कायम थियो । यसबाट फर्स्यौट हुन बाँकी २ अर्ब ७८ करोड ३० लाख २२ हजार ६३२ रुपैयाँ वेरुजुमा आर्थिक बर्ष ०७७÷०७८ को १ अर्व ६ करोड ७४ लाख ४४ हजार रुपैयाँ वेरुजु थपिएको आन्तरिक लेखा परीक्षण तथा समपरीक्षण एकाईका प्रमुख गोपालप्रसाद पोखरेलले जानकारी दिए । यसरी हेर्दा अब महानगरले फस्र्यौट गर्नुपर्ने वेरुजुको अङ्क ३ अर्ब ८५ करोड ४ लाख ६७ हजार पुगेको छ ।

महालेखापरीक्षकको कार्यालयले आर्थिक बर्ष २०७३÷०७४ देखि काठमाडौँ महानगरपालिकाको अन्तिम लेखापरीक्षण गर्न सुरु गरेको हो । त्यसपछिका आर्थिक बर्षहरुको छुट्टाछुट्टै वार्षिक लेखा परीक्षण प्रतिवेदनमा बेरुजु कायम गरिएको छ । जसअनुसार सुरुको बर्ष अर्थात् आर्थिक बर्ष २०७३÷०७४ सम्म भएको १ अर्व १० करोड २५ लाख ५८ हजार ३३८ रुपैयाँ वेरुजुमध्ये २५ करोड ८० लाख ९५ हजार ३६६ रुपैयाँ ६२ पैसा वेरुजु फर्स्यौट भयो । समपरीक्षण एकाईका प्रमुख पोखरेलकाअनुसार यो बर्षमा असुल गर्नुपर्ने ६ करोड ११ लाख ६० हजार रुपैयाँ, अनियमित देखिएको ४९ लाख ४४ हजार रुपैयाँ र प्रमाण कागजात पेश नभएको ८१ करोड ९२ लाख ५८ हजार रुपैयाँ थियो ।

आर्थिक बर्ष २०७४÷०७५ मा उठान भएको ३४ करोड २७ लाख ३० हजार वेरुजु रकममा १९ करोड ४४ लाख ३१ ह्जार ५७७ रुपैयाँ ३३ पैसा फर्स्यौट भयो । यसमा १० करोड ६७ लाख ६५ हजार रुपैयाँ असुल गर्नुपर्ने, १३ करोड ७४ लाख ८६ हजार रुपैयाँ अनियमित देखिएको र २ करोड ३४ लाख २५ हजार रुपैयाँ प्रमाण कागजपत्र पेश नभएको रकम भएको पोखरेलको भनाइ छ ।

यसै गरी आर्थिक बर्ष २०७५÷०७६ मा औँल्याइएको १ अर्ब ४३ करोड ९३ लाख ५७ हजार रुपैयाँ बेरुजुमध्ये ४४ करोड ४८ लाख ९६ हजार ५०२ रुपैयाँ ९८ पैसा फर्स्यौट भयो । यसमा ८४ करोड १३ लाख ६४ हजार रुपैयाँ असुल गर्नुपर्ने, ३५ करोड ११ लाख ५५ हजार रुपैयाँ अनियमित भएको र १३ करोड ६ लाख २८ हजार रुपैयाँ प्रमाण कागजपत्र पेश नभएको वेरुजु थियो ।

आर्थिक बर्ष २०७६÷०७७ मा १ अर्ब ९४ करोड ११ लाख ५४ हजार रुपैयाँ वेरुजु उठान भएकोमा १ अर्ब १४ करोड ५६ लाख ६२ हजार २५९ रुपैयाँ १ पैसा फर्स्यौट भएको छ । उठान भएको वेरुजु रकममध्ये ५३ करोड ४८ लाख ५३ हजार रुपैयाँ असुल गर्नुपर्ने, १ अर्ब ३ करोड १९ लाख १९ हजार रुपैयाँ अनियमित भएको र ३१ करोड १६ लाख १६ हजार रुपैयाँ प्रमाण कागजपत्र पेश नभएको वेरुजु रकम थियो ।

विगतमा भएको वेरुजु अङ्क घटाउन तथा आउँदा दिनमा हुन नदिन महानगरको आन्तरिक लेखापरीक्षण शाखाले नियमित रुपमा आन्तरिक लेखापरीक्षण गर्ने गरेको छ । यसरी गरिएको कामको चौमासिक र बार्षिक प्रतिबेदन तयार हुन्छ । यसबाट वेरुजु उठान हुने गरेको छ ।

रजिष्ट्रर्ड लेखापरीक्षकबाट अन्तिम लेखा परीक्षण गराउँदा आर्थिक बर्ष २०७२÷०७३ को अन्त्यसम्ममा ३६ करोड १५ लाख १० हजार ३ सय १३ रुपैयाँ वेरुजु थियो । त्यसअघिको ६५ करोड ७६ लाख ३५ हजार १  सय ३९ रुपैयाँ वेरुजुमध्ये २९ करोड ६१ लाख २४ हजार ८ सय २५ वेरुजु फर्स्यौट भएर यो अङ्क कायम भएको थियो ।

महालेखापरीक्षकबाट प्राप्त ४ बर्षको प्रतिवेदनले औल्याएका वेरुजुलाई शून्य गर्न र आगामी दिनमा बेरुजु नहुने सुनिश्चित गर्न नीतिगत तहबाट समसामयिक कानुन निर्माण र सशोधन गर्नुपर्छ । पोखरेल भन्छन्, ‘योजना तथा कार्यक्रम कार्यान्वयनमा बाधा आए तत्काल कार्यपालिका वा नगरसभामा लगेर निर्णय गर्नुपर्छ । कार्यान्वयन तहले आफ्नो क्षेत्रको वार्षिक कार्यतालिका बनाएर योजना तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्छ । जिम्मेबारीअनुसार अनुगमन गर्ने तथा पृष्ठपोषण लिने दिने भएमा बेरुजुको क्रमशः शुन्यतातिर जान्छ ।’

महानगरभित्र भएका सामुदायिक विद्यालयहरु काठमाडौँ महानगरपालिकाअन्तर्गत पर्छन् । यिनीहरुले सञ्चालनका लागि सरकारबाट अनुदान प्राप्त गरिरहेका छन् । आयतर्फ भवन भाडाामा लगाएर आय गरिरहेको अवस्था पनि छ । यसलाई पनि महानगरको लेखा परीक्षण दायरामा ल्याउन लागिएको छ ।

प्रतिक्रिया