अध्यक्ष दाहालसँग डा. भट्टराई र यादवबीच भेटवार्ता


काठमाडौं – सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्रराय यादवबीच छलफल भएको छ ।

अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले अध्यक्ष दाहाल, नेता नारायणकाजी श्रेष्ठसँग नेसपा अध्यक्षद्वय डा. भट्टराई र यादवबीच पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालयमा मङ्गलबार दिउँसो छलफल भएको जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेसपा अध्यक्ष डा. भट्टराईले बैठकमा बृहत अग्रगामी शक्तिको निर्माण एवम् देशलाई विकास र सुशासनको दिशातिर लिएर जाने सम्बन्धमा छलफल भएको बताए।

उनले भने, ‘त्यो दिशातिर उन्मुख हुने हिसाबले चुनावी तालमेल लगायतका विषयमा छलफल गरेर टुङ्गो लगाएर जान्छौं ।’ नेसपा सत्ता गठबन्धनभित्रै रहेको भन्दै उनले यो पार्टी गठबन्धनकै अङ्ग भएको बताए । उनले आगामी सङ्घीय निर्वाचनका लागि आवश्यक मापदण्ड बन्ने र यसभित्र रहेर छलफल गरिने चर्चा गरे ।

प्रतिक्रिया