गठबन्धनमा सिट बाँडफाँटको आधार : २०७४ सालको समानुपातिक मत र स्थानीय निर्वाचनको मत


काठमाडौं- सत्ता गठबन्धनमा आगामी चुनावका लागि दुईवटा मुख्य आधारमा रहेर सिट बाँडफाट गर्ने सहमति भएको छ। सोमबार बालुवाटारमा बसेको सिट बाँडफाट कार्यदलको बैठकपछि सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले ०७४ सालको निर्वाचनमा प्राप्त समानुपातिक मत र ०७९ को स्थानीय निर्वाचनमा प्राप्त मतलाई आधार बनाएर मापदण्ड बनाउनेबारे छलफल भएको बताए ।

उनकाअनुसार ०७४ को चुनावमा सहभागी नभएको नेकपा (एकीकृत समाजवादी)को हकमा विशिष्ट प्रकारको मापदण्ड बनाइनेछ। कार्कीले सिट बाँडफाँटको टुंगो चाँडै लाग्ने पनि बताए । अरू दलका नेताहरूले पनि विगतका निर्वाचनमा आएको मतलाई प्रमुख आधार बनाउनुपर्नेमा जोड दिइरहेका छन्।

कार्यदलको अर्को बैठक बुधबार अपराह्न ४ बजेका लागि बोलाइएको छ। पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थियो। ११ सदस्यीय कार्यदलको संयोजक कांग्रेसका नेता कृष्णप्रसाद सिटौला छन्। कार्यदललाई सिट बाँडफाँटको खाका तयार गरी प्रतिवेदन बुझाउन भनिएको छ।

प्रतिक्रिया