प्रधानमन्त्री ओलीलाई सोधिएको स्पष्टिकरणको पत्र प्रचण्ड–नेपाल समूहले बालुवाटारमा बुझायो


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधेको स्पष्टिकरणको पत्र बालुवाटारमा बुझाएको छ।

प्रधानमन्त्रीको सरकारी निवासको गेटमा रहेका सुरक्षाकर्मीलाई पत्र बुझाएर नेता सुरेन्द्र पाण्डेलगायत फर्किएका हुन्। पत्रमा ओलीलाई अध्यक्ष पदबाट हटाएको जानकारी दिँदै साधारण सदस्य समेतमा राख्नुपर्ने कारण खुलाउन भनिएको छ। तीन दिनभित्र जवाफ नदिए साधारण सदस्य समेत नरहनेगरी हटाइने पत्रमा उल्लेख छ।

गत शुक्रबार बसेको प्रचण्ड–नेपाल पक्षीय स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई स्पष्टिरकण सोध्ने निर्णय गरेको थियो।

५ पुसमा असंवैधानिक रूपमा संसद विघटन गरेको भन्दै प्रचण्ड–नेपाल पक्षीय स्थायी कमिटी बैठकको सिफारिसमा ७ पुसमा प्रचण्ड–नेपाल पक्षीय केन्द्रीय कमिटीले ओलीलाई अध्यक्षबाट हटाएको थियो। ओलीको ठाउँमा माधव नेपाल अध्यक्ष बनेका छन्।

प्रतिक्रिया