
नागरिकता विधेयकमा अबको प्रक्रिया के हुन्छ ?
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरिदिएपछि कतिपयलाई अब के हुन्छ भन्ने जिज्ञासा लागेको हुन सक्छ । राष्ट्रपतिले नागरिकता विधेयकमा संसद्बाट पुनर्विचार आवश्यक देखिएको बताएकी छन्।
राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा (३) मा प्रमाणीकरणका लागि पेस भएको अर्थ विधेयकबाहेक अन्य विधेयकमा पुनर्विचार हुन आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा त्यस्तो विधेयक पेस भएको १५ दिनभित्र सन्देशसहित सदनमा फिर्ता पठाउन सक्ने व्यवस्थाअनुसार नागरिकता विधेयक फिर्ता पठाएकी हुन्। तर, अब संघीय संसद्का दुवै सदनले फेरि विधेयक पारित गरेर पठाए राष्ट्रपतिले अनिवार्य विधेयक पारित गर्नैपर्छ।
अर्थात् नेपालको संविधानको ११३ को उपधारा (४) अनुसार संसद्ले संशोधन नगरेर पनि नागरिकता विधेयक फेरि राष्ट्रपतिसमक्ष पेस गर्न सक्छ।
तर, दुवै सदनबाट विधेयक फेरि पारित हुन भने आवश्यक हुन्छ । त्यसरी पठाएको विधेयक राष्ट्रपतिले फेरि फिर्ता गर्न सक्ने सुविधान संविधानले दिएको छैन। संवैधानिक व्यवस्था अनुसार नागरिकता विधेयक दुवै सदनले संशोधन गरेर वा नगरेर फेरि पेस गरेमा राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने हुन्छ ।
नागरिकता विधेयक गत साउन ६ गते प्रतिनिधिसभाबाट र साउन १२ गते राष्ट्रियसभाबाट पारित भएर साउन १५ गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो ।



कागजपत्र |
