

पारिवारिक फेहरिस्त लगाउँदै युवालाई प्रधानमन्त्री बन्न बल गर्न ओलीको आग्रह

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्नका लागि बल गर्न युवाहरूलाई आग्रह गरेका छन्। ओलीले राष्ट्रिय युवा सम्मेलनमा आइतबार युवाहरूले सोधेको प्रश्नको जबाफ दिँदै यस्तो बताएका हुन्।
उनले एमालेले आसन्न निर्वाचनमा उम्मेदवारी चयनमा कुनै नातावादरकृपावादलाई महत्त्व नदिने बताए। ओलीले भने, ‘संविधानले २५ वर्ष पुगेपछि संसद्मा लड्न पाउने व्यवस्था गरेको छ। प्रधानमन्त्री बन्न बल गर्नुस् भाइबहिनीहरू१’ उनले कुनै युवा अगाडि आउँछ भने आफ्नो पूरा साथ र सहयोग रहने बताए।
ओलीले लामो समय योगदान गरेपछि मात्र पार्टी नेतृत्वका लागि दाबी गर्नुपर्ने बताए। उनले भने, ‘योगदान केही छैन, एकैचोटि पार्टीको नेतृत्वमा आउने, एकैचोटि प्रधानमन्त्रीमा टप्किने ?’ उनले युवा पुस्तालाई पनि यस्तो कुरामा इच्छा नराख्न आग्रह गरे।
उनले भने, ‘कामधाम केही गरेको छैन। एकैचोटि प्रधानमन्त्रीमा टप्किनेरु लुडो खेल्या होरु’ पार्टी संगठनमा जिम्मेवारी पाउनका लागि काम गरेरै अगाडि बढ्नुपर्ने र दौडेर जो अघि जान्छ, उसले स्वर्णपदक पाउने भनाइ ओलीले राखे।
ओलीले काम गर्न नसक्ने अशक्त ज्येष्ठ नागरिकबाहेक कानुनले तोकेबमोजिम विभिन्न उमेर समूहका व्यक्तिलाई उम्मेदवारी बनाइने उनले बताए। उनले भने, ‘प्रतिस्पर्धामा उत्रनुभयो भने मेरो साथ रहन्छ। तर प्रतिस्पर्धाबाट जानुपर्छ।’ यस्तै उनले उम्मेदवारी वितरणमा एमालेमा धाँधली नहुने आश्वासन दिए।
उनले भने, ‘मेरी श्रीमतीले दुई विषयमा मास्टर्स गरेकी छन्। बैँकबाट रिटार्यड भएकी हुन्। तर राजनीतिमा लोभ गर्नु हुँदैन परिवारमा एकजना भएकाले। उनी पनि राजनीतिमा संलग्न भइन् भने अरूले लैजान सक्छन्।’
उनले आफ्नो स्वास्थ्य सन्तुलित रूपमा राख्नका लागि पनि श्रीमतीको साथ र सहयोग पूरा आवश्यक रहेको बताए। उनले भने, ‘मेरो जीवन सर्कसको डोरीमा हिँड्ने खेलाडी जस्तै हो। अलिकति बिग्रनेबित्तिकै बिग्रन्छ।’
ओलीले उम्मेदवारी चयन गर्दा लड्न सक्ने व्यक्तिलाई जिम्मेवारी दिइने बताए। यसका लागि आफ्नो अर्को नभन्ने पनि ओलीले स्पष्ट पारे। उनले आफ्नो भाइको दृष्टान्त दिँदै जसले जति काम गरेको छ उसले त्यति नै जिम्मेवारी पाउने बताए। उनले भने, ‘मेरो भाइका बारेमा सुन्नुभएको छरु राजदूत हुन खोज्यो, कमिटीमा पेलपाल गरेर राख्न खोज्यो भनेर सुन्नुभएको छ?’
आफ्नो भाइ भ्रदपुर नगरको वडा कमिटीमा सक्रिय रहेकाले उनले संसद्को उम्मेदवारी नपाउने ओलीले बताए। उनले आफ्नो भाइ १० कठ्ठा जमिन लिएर हलो जोतेर जीवन निर्वाह गरिरहेको जानकारी दिए।
ओलीले भने, ‘एमाले नेतृत्व अरूजस्तो भाइ, बुहारी, छोरी, छोरा, श्रीमती र सालोका लागि मरिहत्ते गरेर हिँड्दैन।’ उनले अरूले पनि त्यसो नगरून् भन्ने चाहेको बताए।
ओलीले हरेक युवालाई उद्यमशीलतामा लाग्न आग्रह गरे। उनले रेमिटेन्समा भर पर्ने अर्थतन्त्र दिगो हुन नसक्ने उनले बताए। उनले भने, ‘खेतहरू बाँझा छन्। कृषिलाई आधुनिकीकरण गर्नुपर्छ। निर्वाहमुखी कृषि भएकाले युवाहरू कृषिमा आकर्षित नभएका हुन्। कृषिमा प्रविधि भित्र्याउनुपर्छ।’

