

पौडेलको क्षेत्रमा भण्डारीको दाबीः नेकपा एसलाई कांग्रेसले नछाड्ने

काठमाडौं – नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रमा कांग्रेसका युवा नेता केन्द्रीय सदस्य शंकर भण्डारीले संघीय संसदको निर्वाचनमा टिकटको दाबी गरेका छन् ।
नेता भण्डारीले पार्टी सभापति शेरबहादुर देउवादेखि पार्टी पदाधिकारीसँग पनि यसअघि पौडेल उम्मेदवार बनी पराजित भएको तनहुँ जिल्लाको निर्वाचन क्षेत्र नंम्वर १ बाट आफूले टिकट पाउनु पर्ने भण्डारीको दाबी गरेको छ ।
यसअघि तनहुँ क्षेत्र नंम्बर २ बाट संघीय संसदको चुनावमा कांग्रेसबाट उम्मेदवार भएका भण्डारीले आफ्नो पुरानो र क्रियाशिल भएको क्षेत्र तनहुँको १ नम्वर क्षेत्र नै भएकोले आफूलाई टिकट दिए जितेर देखाई दिने बताउँदै आएका हुन् । तनहुँ क्षेत्र नम्वर २ बाट भने ०७४ मा प्रदेश सभामा उम्मेदवार भइ ६ मतले पराजित केन्द्रीय सदस्य प्रदीप पाैडेलले उम्मेदवार बन्ने घाेषणा गरिसकेका छन् ।
पार्टीका शीर्ष नेताहरुसँग सत्तारुढ घटकका अन्य दलका नेताले गरेको छलफलको आधारमा विगतको आमनिर्वाचनमा जितेका सांसदलाई नै टिकट दिने विषय स्वीकार्य नहुने भण्डारीले आफू निकटका नेताहरुसँग भन्न थालेका छन् ।
गठबन्धनका नाममा तनहुँ क्षेत्र नं १ मा एकीकृत समाजवादीका उम्मेदवार स्वीकार गर्न नसकिने तनहुँ कांग्रेसका जिल्ला समिति सदस्य डम्वर अधिकारीले बताए । उनले गठबन्धनका नाममा गत स्थानीय तह निर्वाचनमा तनहुँ क्षेत्र नं १ भित्र ८ सय ९२ मत ल्याएको एकीकृत समाजवादीलाई टिकट दिन नहुने बताउँछन् । अधिकारीले तनहुँ क्षेत्र नं १ मा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीलाई पार्टीले टिकट दिनुपर्ने बताए ।
नेता पौडेल २०४८, २०५१ र २०५६को संसदीय चुनाव, २०६४ र २०७० को संविधान सभा सदस्यको निर्वाचनमा उम्मेदवार भएर नेपाली कांग्रेसको तर्फबाट विजय हासिल गर्दै आएका छन् । उनी ०७४ मा भने किसान श्रेष्ठसँग पहिलोे पटक पराजित भएका हुन् ।
०७०को संविधान सभा निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट अत्याधिक मत ल्याई केन्द्रिय सदस्य भण्डारी विजयी भएका थिए । भण्डारीलाई टिकट नदिएर नेकपा एसलाई दिएमा आफूले उम्मेदवारी दिने बताए ।
स्थानीय तहको मत हेर्दा कांग्रेस धेरै बलियो
२०७४ को आमनिर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार भएका श्रेष्ठले ३४ हजार ४९२ मतसहित विजयी हुँदा पौडेलले २७ हजार ६९० मतमा चित्त बुझाउनु परेको थियो ।
स्थानीय तहको गत बैशाखमा सम्पन्न निर्वाचनमा भने कांग्रेसले ३३ हजार १०६ मत ल्याउँदा एमालेको पक्षमा २२ हजार २१० मत र माओवादीको पक्षमा ८ हजार ४७४ मत आएको थियो ।
सो क्षेत्रमा राप्रपाले १ हजार ७७५, एकीकृत समाजवादीले ८९२ र जसपाले ५४ मत मात्र ल्याएको थियो । स्थानीय तहको निर्वाचनमा प्राप्त मतको आधारमा विश्लेषण गर्दा एकीकृत समाजवादीबाट उम्मेदवार बनाइएमा ८९२ मत पाएको दललाई विजयी बनाउन कांग्रेसले सबै मत खन्याउनु पर्छ ।

