

नवलपुरमा विरासत जोगाउन कांग्रेसलाई कठिन, शशांकलाई चुनौती थपिँदा कांग्रेस बढारिने संकेत !

नवलपुर – मंसिर ४ का लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा भइसकेको अवस्थामा पूर्वी नवलपुरमा चुनावी माहौल बढ्दै गएको छ ।
प्रतिनिधि सभाका लागि २ निर्वाचन क्षेत्र रहेको नवलपुरमा सत्तारुढ दल नेपाली कांग्रेस बाहिरिरुपमा बलियो मानिन्छ । क्षेत्र नं. १ मा नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला नेपाली कांग्रेसका तर्फबाट निर्विवाद र निर्विकल्प उम्मेदवार हुन् ।
नेपाली कांग्रेसका लागि देशकै सबैभन्दा बलियो जिल्ला मानिएको नवलपुरमा पछिल्लो स्थानीय तह निर्वाचन परिणाममा भने कांग्रेसको अपेक्षाकृत नतिजा आउन सकेन । ८ स्थानीय तह रहेको नवलपुरमा यस स्थानीय तह निर्वाचनमा ६ वटामा एमालेले जित हात पार्दा नेपाली कांग्रेस २ वटामा सीमित रहेको थियो ।
२०७४ को प्रतिनिधिसभामा डा. कोइरालाले नेकपा एमालेका उम्मेदवार भविश्वर पराजुलीलाई ४ हजार मतान्तरले पराजित गरेका थिए । तर, यसपटक क्षेत्र नं. १ मा पर्ने चार स्थानीय तहमध्ये यसपटक गैडाकोट नगरपालिकामात्र कांग्रेसले जितेको छ भने अन्य देवचुली र कावासोती नगरपालिकामा एमालेले नेतृत्व हात पारेको छ । त्यस्तै नेपाली कांग्रेसका लागि बलियो मानिएको बुलिङटार गाउँपालिकामा भने यसपटक एमालेका उम्मेदवारले नेतृत्व हात पारेको छ ।
स्थानीय तहको निर्वाचन हेर्दा क्षेत्र नं. १ मा पर्ने बुलिङटार गाउँपालिका, गैंडाकोट, देवचुली र कावासोती नगरपालिकामा नेपाली कांग्रेस झिनो मतान्तरले अगाडि रहेको छ । उक्त निर्वाचनमा कांग्रेसका स्थानीय तह प्रमुख उम्मेदवारले ४९ हजार ८ सय ६९ मत ल्याएका थिए भने एमाले उम्मेदवारले ४९ हजार ७९ मत ल्याएका छन् । जसमा नेपाली कांग्रेस ७९० मतले मात्रै अगाडि रहेको छ । तर गैंडाकोट नगरपालिका बाहेक अन्य तीनवटै स्थानीय तहको नेतृत्वमा एमालेले जित हात पारेको छ । त्यसकारण यसपटकको निर्वाचनमा नवलपुर क्षेत्र नं. १ मा डा. कोइरालालाई सहज भने पक्कै छैन ।
गत निर्वाचनमा क्षेत्र नं. १ का दुई प्रदेशमध्ये १/१ वटामा कांग्रेस र एमालेले जित हात पारेका थिए । क्षेत्र नं. १ को प्रदेश (क) मा गण्डकी प्रदेशका वर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली विजयी भएका थिए भने प्रदेश (ख) मा नेकपा एमालेका रोशन गाहामगर विजयी भएका थिए ।
यसपटक एमालेबाट बलिया उम्मेदवार कृष्ण पौडेलले पनि उम्मेदवारी दिने जनाइएको छ । स्थानीय तहको मतपरिणामबाट सन्तुष्ट देखिएको नेकपा एमालेले भविश्वर पराजुलीको स्थानमा पौडेललाई उम्मेदवार बनाउने पनि देखिएको छ । यद्यपि पराजुलीले यसपटक आफूले नै पाउनुपर्ने दाबी भने गर्न छाड्ने छैनन् । त्यस्तै प्रदेश सभा सदस्य रोशन गाहा मगरले पनि प्रतिनिधि सभामा दाबी गरिरहेको जनाइएको छ ।
त्यस्तै प्रतिनिधि सभा क्षेत्र नं. २ अन्तर्गतका मध्यविन्दु नगरपालिका र अन्य तीन गाउँपालिका बौंदीकाली, हुप्सेकोट र विनयी त्रिवेणीमा स्थानीय तहमा एमालेका उम्मेदवार १३८७ मतले अगाडि रहेका थिए । यसपटकको निर्वाचनमा चार स्थानीय तहमध्ये हुप्सेकोट बाहेकमा एमालेले जित हात पारेको छ । यसअघिको स्थानीय तह निर्वाचनमा चारवटैमा नेपाली कांग्रेसले जित हात पारेको थियो । यसरी हेर्दा यसपटक क्षेत्र नं. २ मा एमाले बलियो देखिएको छ ।
स्मरणीय रहोस् अघिल्लो प्रतिनिधिसभामा यस क्षेत्रबाट नेकपा एमालेले जित हात पारेको थियो भने प्रदेशसभामा कांग्रेस र एमालेले १/१ जित हात पारेका थिए । प्रदेश (क) मा कांग्रेसका विष्णु लामिछानेले जित हात पार्दा प्रदेश (ख) मा एमालेका जनकलाल श्रेष्ठ विजयी भएका थिए ।
अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका तिल बहादुर महत क्षेत्रीले नेपाली कांग्रेसका विष्णुकुमार कार्कीलाई १३३३ मतले पराजित गरेका थिए । नेकपा एमालेले क्षेत्र नं. २ मा अहिले पनि उनै महतलाई उम्मेदवार बनाउने देखिएको छ ।
सत्तारुढ कांग्रेसबाट भने नवलपुर क्षेत्र नं. २ मा उद्योगपति एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको चर्चा चलेको छ । चौधरी अहिले जिल्ला दौडाहामै लागेका छन् । उनको पछिल्लो दिनको सक्रियताले उनले यसपटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने आंकलन गर्न सकिन्छ । यदि चौधरीले उम्मेदवारी दिन चाहेमा कांग्रेस केन्द्रले उनलाई नै टिकट दिने निश्चित नै छ । तर, पछिल्लो स्थानीय तहको निर्वाचनको मतपरिणामलाई दृष्टिगत गरि परिणाम आफ्नो पक्षमा नआउने देखिएमा चौधरी पछि हट्ने समेत जानकारहरु बताउँछन् ।
यदि चौधरीले उम्मेदवारी नदिने भएमा नवलपुर-२ मा यसअघि पराजित विष्णुकुमार कार्की नै कांग्रेसका निर्विकल्प उम्मेदवार मानिन्छन् । तर चौधरीले उम्मेदवारी नदिने पक्का भएमा प्रदेश सदस्य विष्णु लामिछानेले पनि यसपटक प्रतिनिधिसभामा दाबी गर्ने स्रोतले जनाएको छ । तर कार्कीको तुलनामा लामिछानेको पक्षमा भने जनमत देखिँदैन । यदि चौधरी प्रतिनिधिसभामा उठेको खण्डमा कार्की प्रदेशमा उठ्ने पक्का छ ।
केन्द्रीय सदस्य चौधरी भने नवलपुरमा जसरी भए पनि कांग्रेसले नै जित्नुपर्ने बताउँदै आएका छन् । आफ्नो उम्मेदवारी रहे पनि नरहे पनि चौधरीले पार्टीको जितका लागि उपयुक्त उम्मेदवार छनोट गरेर चुनावी मैदानमा उत्रने बताएका छन् । यद्यपि केही समयअघि चौधरीले केही सञ्चारकर्मीसँगको भेटमा आफू चुनावी मैदानमा उत्रने संकेत गरेका थिए ।
नवलपुरमा कांग्रेस र एमाले भन्दा बाहेकका अन्य दलको खासै प्रभाव नरहेकोले गठबन्धनले खासै असर नपर्ने देखिएको छ । समग्रमा हेर्दा यसपटकको निर्वाचनमा नवलपुरमा नेपाली कांग्रेसले विरासत जोगाउन ठुलै कसरत गर्नुपर्ने देखिन्छ ।

