भारतमा सवा दुई लाखलाई खोप, ४४७ बिरामीमा साइड इफेक्ट


काठमाडौं – भारतमा कोरोना भाइरसविरुद्धको खोपको साइड इफेक्ट देखिन थालेको छ । शनिबारदेखि केही क्षेत्रमा खोप लगाउन थालिएको हो। भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी कोरोना खोप दिन थालेको २ दिनमा ४४७ जना बिरामीहरूमा साइड इफेक्ट देखिएको जनाएको छ ।

भारतमा शनिबार र आइतबार गरी दुई दिनमा दुई लाख २४ हजार तीन सय एक जनालाई खोप लगाइएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमध्ये चार सय ४७ जना बिरामी परेका हुन्।

चार सय ४७ जनामा दुख्ने, सुन्निने, ज्वरो आउने, टाउको दुख्ने, चक्कर लाग्ने, पसिना आउनेलगयातका समस्या देखिएका छन्। उनीहरुमध्ये तीन जना भने गम्भीर भएका छन्। तीनै जनाको अस्पतालमा उपचार भइरहेको जनाएको छ।

खोप लगाउनका लागि तीन हजार खोप केन्द्र राखिएको छ। जसमा दैनिक एक सय जनालाई खोप लगाउन सकिने जनाएको छ। जसअनुसार, दैनिक तीन लाख जना खोप लगाउन सक्नेछन्।

भारतमा पहिलो चरणमा फ्रन्ट लाइनमा खटिएका स्वस्थ्यकर्मीलगायतलाई खोप लगाइँदै छ। हप्तामा चार दिन खोप लगाइने जनाएको छ। पहिलो चरणमा तीन करोडलाई खोप लगाउने योजना छ। जसमा स्वास्थ्यकर्मी, नगर निगमका कर्मचारी, सरसफाइ कर्मचारी रहेका छन्।

यसपछि दोस्रो चरणमा २७ करोडलाई खोप लगाउने तयारी छ। जसमा दिर्घरोगी, बृद्धबृद्धालगायत रहेका छन्। अहिले भारतमै उत्पादन भएको कोभिसिल्ड र कोभ्याक्सिन खोप लगाउन थालिएको हो। बेलायतको कम्पनीसँग मिलेर सेरम इन्स्टिच्युटले कोभिसिल्ड उत्पदान गरेको हो भने भारतकै कम्पनी भारत बायोटेकले कोभ्याक्सिन उत्पादन गरेको हो।

प्रतिक्रिया