


पहिरोले डुम्रे-बेँसीशहर सडक फेरि अवरुद्ध

लमजुङ- अविरल वर्षाले आएको पहिरोले गएरातिदेखि डुम्रे–बेँसीशहर र बेँसीशहर चामे सडक पुनः अवरुद्ध भएको छ।
डुम्रे बेँसीशहर सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा र मर्स्याङ्दी गाउँपालिका–४ रामबजार पहिरो गएको हो। जसले गर्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
वैकल्पिक सडकका रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए। उनका अनुसार पहिरोले अवरुद्ध बनाएको सडक एक्साभेटरको माध्यमबाट खुलाउने कार्य भइरहेको छ।
सडक अवरुद्ध हुँदा बेँसीशहरबाट काठमाडौँ, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीशहर आउने यात्रुहरु बढी मारमा परेका छन्। यस सडक ४२ किलोमिटर दूरीको छ।
त्यस्तै, लमजुङ मनाङ जोड्ने बेँसीशहर चामे सडकअन्तर्गत उक्त रामबजारमा पहिरोले अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन हुन सकेको छैन। सडक माथिबाट ठूला ढुङ्गामाटा सहितको पहिरो खसेर सडक अवरुद्ध भइरहेको प्रहरीले जनाएको छ।
यस सडक हुँदै विशेष गरी मनाङवासी आवतजावत हुने गर्छन्। तर उनीहरुलाई यसरी पटक पटक सडक अवरुद्ध हुँदा समस्या हुँदै आएको छ। यस सडक ६५ किलोमिटरको दूरीमा रहेको छ।

