


यी हुन् गठबन्धनको सिट बाँडफाँटका लागि गठित कार्यदलका ११ सदस्य ?

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धन घोषित ४ मंसिरको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा मिलेर जान सहमत भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा तालेमल गरेर जाने सहमति भएको हो । स्रोतका अनुसार सिट बाँडफाँटको गृहकार्य गर्न ११ सदस्यीय कार्यदलसमेत गठन भएको छ ।
कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन छन् ।
यस्तै, नेकपा (एकीकृत समाजवादीं) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।
कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिमसातासम्म सिफारिस गर्न भनिएको छ ।
कार्कीले भने कार्यदलबारे केही बताएनन् । यसबारे विस्तारै थाहा दिने भन्दै कांग्रेस केन्द्रीय सदस्य कार्कीले भने, ‘तालमेलका निम्ति फेरि बैठकहरू बस्छ, छलफल हुन्छ । यसलाई व्यवस्थित र न्यायपूर्ण गर्न आज वृहतरुपमा सहमति भएको छ ।’

