महानगरले सबै वडाका विवाद वडास्तरमै समाधान गर्ने : उपप्रमुख डंगोल


काठमाडाैं – काठमाडौं महानगरपालिकाले सबै वडामा मेलमिलाप कक्ष बनाएर न्यायिक समितिमा आउने विवाद वडा तहमै समाधान गर्ने तयारी गरेको छ । कामपाको न्यायिक समितिले इजलासबाट न्याय निरुपणका काम थालनी गरेको अवसरमा बुधवार आयोजित कार्यक्रममा उपप्रमुख सुनिता डंगोलले जानकारी गराइन् ।

‘समितिमा आएका उजुरीलाई मेलमिलाप गराउनु नै पहिलो प्रयास हुनेछ,’ उपप्रमुख डंगोलले भने । अहिले न्यायिक समितिमा २४२ उजुरी छन्। यीमध्ये १४४ वटा मुद्दा सरेर आएका हुन् । नेपालको संविधानको धारा २१७ मा न्यायिक समितिसम्बन्धी व्यवस्था गरिएको छ ।

समितिको कार्यसम्बन्धी व्यवस्था, कर्तव्य र क्षेत्राधिकार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ८ मा व्यवस्था छ । समितिले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ अनुसार न्यायिक समितिको क्षेत्राधिकार, दफा ४८ अनुसार अधिकार क्षेत्रको प्रयोग, दफा ४९ अनुसार न्याय सम्पादनका प्रक्रिया सञ्चालन गर्छ ।

१ वर्ष कैद हुनसक्ने फौजदारी मुद्दा, मेलमिलाप हुनसक्ने देवानी मुद्दा, २५ लाख रुपैयाँ बिगो भएको घर बहाल र घर बहाल सुविधा भएको मुद्दालगायत न्यायिक समितिको जिम्मेवारीमा पर्छन् ।

प्रतिक्रिया