चारदेशीय टी-ट्वान्टी : आयरल्यान्डसँग नेपाल पराजित
काठमाडौं – नेपाल चार देशीय टी-२० अन्तर्राष्ट्रिय शृङ्खला प्रतियोगितामा आयरल्यान्डसँग पराजित भएको छ । चार देशीय शृङ्खला अन्तरगतको तेस्रो तथा अन्तिम खेलमा नेपाल १६ रनले पराजित भएको हो ।
ओमानको अल अमेरात क्रिकेट रंगशालामा टस जितेर फिल्डिङ रोजेको नेपाललाई आयरल्यान्डले १२८ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १११ रन मात्र बनाउन सफल बन्यो ।
बलिङका क्रममा नेपालका दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४ विकेट लिएका थिए । यस्तै, उनले ब्याटिङतर्फ पनि सबैभन्दा बढी रन लिने खेलाडी बने । उनले ३० बल खेल्दै सर्वाधिक २८ रन बनाएका थिए ।
यसअघि आयरल्याण्डका लागि जर्ज डकरेलले सर्वाधिक २८ रनको योगदान दिए भने कर्टिस क्याफरले २० रन बनाए । कप्तान एन्डी बाल्ब्रिनले १९ रन बनाउँदा लोक्रान टकरले १५ रनको योगदान दिए । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४ विकेट लिए भने अभिनास बोहराले २ विकेट लिए । कमल ऐरी, जितेन्द्र मुखिया र सन्दीप लामिछानेले १–१ विकेट लिए।
नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो दोस्रो खेलमा यूएईसँग २५ रनले पराजित भएको थियो ।