खुम्बु क्षेत्र भ्रमणमा आएका १३ विदेशीको मृत्यु, दुई बेपत्ता


सोलुखुम्बु – एक वर्षको अवधीमा खुम्बु क्षेत्र भ्रमणमा आएका एक दर्जन बढी विदेशी पर्यटकको मृत्यु भएको छ। दुई जना बेपत्ता भएका छन्।२०७८ को जेठदेखि ०७९ को जेठसम्ममा खुम्बु भ्रमणमा आएका १३ जना विदेशीको मृत्यु भएको र दुई जना बेपत्ता भएको पर्यटक प्रहरी कार्यालय लुक्ला सोलुखुम्बुले जनाएको छ।

कार्यालयका इन्चार्ज प्रहरी सहायक निरीक्षक पूर्णप्रसाद दाहालका अनुसार २०७८ मा सगरमाथा आरोहण गरेर फर्कने क्रममा लडेर वैशाख ३० गते बेलायती नागरिक ३४ र स्वीटजल्यान्डका ४१ वर्षीय पुरुष, जेठ ८ गते बेलायती नागरिकहरू ६१ र ३४ वर्षका पुरुषको मृत्यु भयो।

असोज २९ गते भारत केरलाका २० वर्षीय पुरुष र कार्तिक १९ गते बेलायती नागरिक १९ वर्षीय युवकको लेक लागेर बेसक्याम्प क्षेत्रमा मृत्यु भएको छ। यस्तै कार्तिक २१ गते दुई जना २७ र एक जना ३४ वर्षका गरि ३ जना फ्रान्सेली नागरिकको सगरमाथा चढ्ने क्रममा लडेर मृत्यु भएको पर्यटक प्रहरी उपशाखा लुक्लाले जनाएको छ।

२०७९ को वैशाख ६ गते रसियन नागरिक ५५ वर्षका पुरुष हिमाल चड्ने क्रममा लडेर र वैशाख २२ गते ५५ वर्षीय भारतीय नागरिकको गोक्योमा लेक लागेर मृत्यु भएको प्रहरीको तथ्यांक छ। वैशाख ३१ गते क्यानाडियन ५० वर्षीय पु्रुष स्याङबोचेमा सुतेकै अवस्थामा मृत्यु भएको र जेठ २० गते बेलायती १९ वर्षीय पुरुषले खुम्बुमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

गत जेठ ५ गते खुम्बु आएका भारतीय नागरिक ३१ वर्षीय पुरुष सिरनाथ चन्द्र मोहोन र कोरियन नागरिक ५० वर्षीया महिला योहन बेपत्ता भएका छन्। उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। खुम्बु क्षेत्रमा ज्यान गुमाएका तथा बेपत्ता भएका अघिकांश विदेशी पर्यटकहरू गाइड तथा सहयोगीविना एक्लाएक्लै भ्रमणमा आएकाहरू रहेको पर्यटक प्रहरीले जनाएको छ।

प्रतिक्रिया