पोखरामा पहिरोले घर पुरिँदा एकको मृत्यु


काठमाडौँ- पोखरा आइतबार मध्यरातमा आएको पहिरोले घरको कोठा भत्किँदा पोखराको डिहिगोपाटनमा २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको छ। प्रहरीका अनुसार राति करिब एक बजेतिर पोखरा-६ डिहिगोपाटन, पँधेरोस्थित लक्ष्मी खड्का क्षेत्रीको ब्लकको गारो र टिनको छानो भएको एकतले कच्चीघरको पछाडिबाट पहिरो आएको थियो।

उक्त पहिरोमा परी गम्भीर घाइते भएका कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ तातोपानी घर भएका सुनारलाई राति १ बजेर ५५ मिनेटमा उद्धार गरी उपचारका लागि पश्चिम क्षेत्रीय अस्पतालमा पठाइएकोमा २ बजेर २० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए। पहिरोमा मृतक सुनारकी दिदी सुनीता घाइते भएकी छन्।

उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। घटनाबारे थाहा हुनासाथ कास्की प्रहरीका डिएसपी सुन्दर तिवारी र सशस्त्र प्रहरी बल कालीका गणका निरीक्षक उमेश ढकालको नेतृत्वमा ४० सुरक्षाकर्मी उद्धारमा खटिएका थिए। डीएसपी तिवारीका अनुसार सुनीताकी १० वर्षीया छोरी सिम्रनको सकुशल उद्धार गरिएको छ।

प्रतिक्रिया