जनार्दन शर्मामाथि छानबिन समितिले गरेको प्रतिवेदन मान्न सकिन्न : अध्यक्ष ओली


काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन मान्न नसकिने बताएका छन्।

राष्ट्रिय युवा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारूढ गठबन्धनकै बहुमतले तयार पारेर ल्याइएको सो प्रतिवेदनलाई नेपाली जनताले पनि अस्वीकार गर्नुपर्ने तर्क गरे।

समितिको सो प्रतिवेदन सत्य नभएको र तथ्यमा आधारित पनि नरहेकाले त्यसलाई मान्न नसकिने पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ। अध्यक्ष ओलीले आफ्नो पार्टीलाई सो प्रतिवेदन मान्य नहुने र जे सत्य हो, त्यसैमा अडिएर अघि बढ्ने आफ्नो पार्टीको अडान रहेको समेत स्पष्ट पारे।

समितिमा ११ जनामध्ये ७ जना आफ्नो राख्ने र अनि हुन्छ र हुन्न भनेको आधारमा सो प्रतिवेदन आएको भन्दै उनले आक्रोश समेत व्यक्त गरे। अध्यक्ष ओलीले भने, ‘इन्टरनेशनल छानबिन गरौं। यो देश विरूद्धको अपराध हो। देशको अर्थतन्त्र माथिको गम्भीर अपराध हो। जनताले राजस्व तिर्नुपर्छ। उद्योग, व्यवसाय यहाँ चलाउनुपर्नेछ। व्यवसायीको घाँटी निमोठिएको छ। केही औद्योगिक घराना पोस्नका लागि देशको उद्योग र अर्थतन्त्रलाई जानीजानी धराशायी पार्ने अपराध गरिएको छ। मामुली कुरा हो योरु आइन्दा सच्याउला भन्ने कुरासम्म पनि छैन। यो विषयलाई गम्भीरताका साथ लिइएन। गल्ती भयो भन्ने सम्म पनि छैन। अनि गल्ती नै भएको छैन रु प्रमाणित भएन रे। ७ जनाले प्रमाणित हुनै दिएन, मानेन। अनि ७ जना आफू राखेर बहुमत र अल्पमतको फैसला। त्यो त पार्लियामेन्टमै हुन्छरहुन्न रु गरेको भए भइहाल्थ्यो नि।’

अध्यक्ष ओलीले सत्तारूढ दलहरूले देशलाई बर्बादीको दिशातिर धकेलेको उल्लेख गर्दै त्यसलाई जोगाउन पनि आगामी निर्वाचनमा एमालेले शानदार बहुमत ल्याएर सरकार बनाउनुपर्ने जिकिर समेत गरे।

देशलाई बचाउन, जोगाउन र अघि बढाउन एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा शानदार बहुमत ल्याएर सरकार बनाउनुपर्ने अवस्था आएको भन्दै उनले त्यसका लागि खट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

प्रतिक्रिया