पर्यटनमन्त्री श्रेष्ठ र पोल्याण्डका राजदूतबीच भेटवार्ता


काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि गणतन्त्र पोल्याण्डका गैर आवासीय राजदूत आडम बुराकोव्स्कीले शिष्टाचार भेट गरेका छन्।

मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच नेपाल र पोल्याण्डबीच रहिआएको सम्बन्ध, आपसी हितका विषयमा कुराकानी भएको थियो। मन्त्री श्रेष्ठले नेपाल र पोल्याण्डबीच कुटनीतिक सम्बन्ध स्थापित भएको ६३ बर्षसम्म सुमधुर सम्बन्ध रहिआएको चर्चा गर्दै अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।

पर्वतारोहणमा पोल्याण्डका जनताको रुची रहेको र त्यसका लागि नेपाल आकर्षक गन्तव्य रहेको मन्त्री श्रेष्ठले बताए। मन्त्री श्रेष्ठले कोरोना भाइरस महामारीपछि नेपालले अहिले पर्यटन पुनरुत्थानका कार्ययोजना अनुसार पर्यटकलाई सुविधा तथा सहुलियतका कार्यक्रम अघि बढाएको जानकारी गराए।

पोल्याण्डमा उच्च शिक्षा अध्ययन र रोजगारीको सिलसिलामा नेपालीहरु जाने गरेको तथा नेपालमा रहेका पोल्याण्डका जनताको भिसा र आवागमन प्रकृयामा सरलीकरण गर्नेबारेमा पनि उनीहरुबीच छलफल भएको थियो।

प्रतिक्रिया