देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने


काठमाडौं- हाल देशभर आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश–१ का केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

झापाकाको शनिश्चरे, चन्द्रगढी, केचना तथा इलाम र झापाको सीमा आसपास केही स्थानमा गएरातिदेखि अति भारी वर्षा भएको छ। मेची, विरिङ, निन्दा, अदुवाखोलालगायत साना खोलामा बाढीको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुनेछ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। विभागले नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने तथा दैनिक जनजीवन, यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया