

छुवाछूतका घटना हुन नदिन निरोधात्मक कार्य गर्न निर्देशन

काठमाडाैं – प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी घटना घट्न नदिनका लागि निरोधात्मक कार्य गर्न राष्ट्रिय दलित आयोगलाई निर्देशन दिएको छ ।
समितिको बुधवारको बैठकले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी घटना घटिसकेपछि सोको सम्बन्धमा आयोगले उपचारात्मक कार्यका लागि पहल गर्दै आएको विषय सराहनीय रहेको भन्दै त्यस्ता किसिमका घटना घट्नै नदिने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएको हो ।
समयको साथै अन्य स्रोतसाधनको लगानीको प्रतिफल कत्तिको सन्तोषजनक छ वा सन्तोषजनक परिणामको लागि सुधार गर्नुपर्ने विषयबारे अध्ययन, हालसम्मको उपलब्धि मापन गर्न पनि समितिले निर्देशन दिएको छ ।
न्यायसंगत सम्बोधन हुने गरी कार्यसम्पादन गर्न र आयोगले हालसम्म गरेका नीतिगत सिफारिसको कार्यान्वयनको अवस्था विश्लेषण गर्न पनि भनिएको छ । आयोगले काम गर्नुपर्ने समुदायको अझ थप विश्वास आर्जन गर्नसक्ने गरी प्रभावकारी कार्यसम्पादन गर्न दलित आयोगलाई निर्देशन दिइएको छ ।
आयोगमा दरबन्दीअनुसार कर्मचारी उपलब्ध नगराएको र उपलब्ध कर्मचारी पनि छिटोछिटो सरुवा भएर अन्यत्र जाने हुँदा र यसबाट आयोगको कार्यसम्पादनमा प्रतिकूल प्रभाव पर्ने गरेको विषयलाई समाधान गर्न गराउन समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पनि निर्देशन गरेको छ ।
स्थापनाको २ दशक र संवैधानिक मान्यता प्राप्त गरी कार्यसम्पादन गरेको ७ वर्ष पूरा गर्दा समेत दलित समुदायको बहुआयामिक, बहुपक्षीय वा समग्रताको विषयमा आशाअनुरूप प्रगति गर्न नसकेको विषयमाथि बैठकमा छलफल भएको थियो ।

