मन्त्री चौधरीकाे एक महिना, फोहोर दिएबापत नागरिकलाई पैसा दिने योजना


काठमाडाैं – शहरी विकासमन्त्री मेटमणि चौधरीले फोहोर दिएबापत नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापनको योजना बनाइरहेको बताएका छन् ।

बुधवार मन्त्री बनेको महिना दिनको कार्यप्रगति र आगामी योजना प्रस्तुत गर्दै मन्त्री चौधरीले फोहोर दिने नागरिकलाई पैसा दिने गरेर मन्त्रालयले काठमाडौंमा नै फोहोर व्यवस्थापनको योजना अघि बढाइरहेको बताएका हुन् ।

उनले अहिलेसम्म नागरिकबाट फोहोरको पैसा लिने गरेको तर अब मन्त्रालयले बनाउने नयाँ प्रोजेक्टमा नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापन गर्ने रणनीति लिएको बताए । ल्याण्डफिल साइटमा फोहोर लैजाने प्रोजेक्ट नै रोक्ने योजना ल्याउन छलफल भइरहेको उल्लेख गर्दै उनले फोहोरबाट काठमाडौं भित्रै मल, बिजुली, ग्यास लगायतका वस्तु उत्पादन गर्ने बताए ।

उनले देशभर बञ्चरे डाँडा र सिसडोल खोज्ने काम बन्द गरेर फोहोरलाई मोहोरमा बदल्ने रणनीति र योजना बनाउनुपर्ने बताए । मन्त्री चौधरीले आफ्नो कार्यकाल छोटो भएपनि अवधिभित्रै ग्यास, मल उत्पादन गर्ने व्यवस्थामा लैजाने बताए । चौधरीले आफू मन्त्री बनेपछि शहरी विकास मन्त्रालयले असार महिनामा मात्र २६.८ प्रतिशत वित्तिय प्रगति हासिल गरेको बताए ।

प्रतिक्रिया