निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई फेरि बर्खास्त गर्ने तयारीमा सरकार


काठमाडौँ- नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हटाउन सरकारले दोस्रोपटक स्पष्टीकरण सोधेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सोमबार मन्त्रिपरिषद् बैठकमा याे प्रस्ताव लगेका थिए।

यसअघि तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले अधिकारीलाई स्पष्टीकरण सोधेर हटाएका थिए। सर्वोच्च अदातलले अधिकारीको पक्षमा आदेश दिएपछि उनी निगम फर्किएका थिए। पर्यटन सचिव महेश्वर न्यौपानेको नेतृत्वमा गठन भएको छानबिन समितिले अधिकारीलाई ५२ वटा विषयमा बयान लिएर १२ वटा विषयमा कमजोरी किटान गरेको छ।

६ असारमा गठन भएको यो समितिले प्रतिवेदन बुझाएसँगै अख्तियार दुरुपपयोग अनुसन्धान आयोगले थप छानबिन गर्नुपर्ने सुझाव दिएको थियो। सोमबारको मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार ३ दिनभित्र स्पष्टीकरण बुझाउनुपर्नेछ। स्पष्टीकरण बुझाएसँगै उनी बर्खास्तीमा पर्नेछन्।

यसअघि बर्खास्तीमा परेपछि १३ असारमा सर्वोच्च अदालतमा रिट लिएर पुगेका अधिकारीको पक्षमा २३ असारमा सर्वोच्चले अन्तरिम आदेश दिएको थियो। सोही आदेश अनुसार निगम फर्किएका आधिकारीमाथि सरकार पुनः कारबाहीमा लागेको हो । उनको अर्को सुनुवाइ भने १५ साउनमा तोकिएको छ।

अधिकारीलाई कारबाही नगर्ने गरी कमजोर प्रतिवेदन बनाउन अधिकारीले सचिव न्यौपानेमाथि दबाब बढाएको चर्चा पनि चलेको थियो। त्यसका लागि एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई प्रयोग गरेर सचिव न्यौपानेमाथि दबाब बढाएको पनि आरोप लागेको थियो।

 

प्रतिक्रिया