

ड्रागन खेतीबाट पतिको सपना पूरा गर्दै पद्मा

सुर्खेत – घरको सदस्य गुमाउँदा कुन परिवारलाई पीडा हुँदैन र ? त्यसमा पनि मातृत्व र पितृत्व दुवै त्यागेर रोजेको जीवनसाथी अनि घरको मूल मान्छे गुम्दाको पीडा हरेक श्रीमतीका लागि अझ बढी असह्य हुन्छ । यद्यपि सहनुको विकल्प पनि हुँदैन ।
त्यही असह्य पीडा छेडागाड नगरपालिकाको साल्मामा स्थायी घर भइ अहिले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका-१२ सुर्खेतको नेवारेमा अस्थायी रूपमा बस्दै आएकी पद्मा रावतको जीवनमा पर्यो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण पद्माले २०७८ वैशाख १७ गते पति बीरबहादुर बुढा गुमाउनु पर्यो ।
विसं २०७७ मा मालिका कृषि तथा ड्रागन फ्रुट फर्म स्थापना गरी ड्रागन फ्रुट खेतीबाट कर्णालीको नमुना व्यवसायी बन्ने सपना बुनेर बुढा ड्रागनको बेर्ना लिन २०७७ चैतको अन्त्यतिर भारतको गुजरात पुगे । त्यति बेला भारतमा दोस्रो लहरको कोरोना सङ्क्रमणको निकै ठूलो त्रासदी थियो । भारतमा कोरोना व्यापकरूपमा फैलिँदै गएपछि वैशाखमा नेपालमा पनि लकडाउन गरिएको थियो ।
बेर्ना लिएर नेपाल फर्केको केही दिनपछि उनलाई कोरोना सङ्क्रमण देखियो । ‘कोरोना सङ्क्रमण देखिएपछि उनले आफैँले एम्बुलेन्स बोलाएर कर्णाली प्रदेश अस्पताल सुर्खेतमा गएका थिए । त्यति बेलासम्म स्वास्थ्यमा त्यति समस्या थिएन’, पद्माले भनिन्, ‘दुर्भाग्य अस्पतालको आइसोलेशनमा केही दिनपछि उनको निधन भयो ।’ बीरबहादुरको निधनले परिवारको भरोसाको खम्बा ढल्यो ।
पति वियोगले उनलाई केही समय सम्हालिन गाह्रो भयो । असह्य पीडाले जीवन आँसुको आहालमा परिणत भयो । मावि तथा आधारभूत तहमा पढ्दै गरेका छोरी र छोराले पितृत्वको अभावको महसुस गर्न थाले । पद्मालाई जीवन पतझर शिशिरको जस्तो लाग्न थाल्यो । तर पनि छोराछोरी हेरेर चित्त बुझाउनुको विकल्प थिएन उनलाई ।
पतिले लाखौँ रुपैयाँ ऋण लिएर सुरु गरिएको ड्रागन फ्रुट खेती डुब्दै जाने अवस्था आयो । उनको विछोडको पीडा एकातिर छँदैछ, अर्कोतिर त्यो ऋणको भारीबाट कसरी मुक्त हुने भन्ने चिन्ताले पद्मालाई पिरोल्न थाल्यो । सुरु गरिसकेको खेती छोड्ने अवस्था पनि थिएन र मूलतः ड्रागन फ्रुट खेती उनको पतिको जीवनको सपना थियो ।
पद्माको परिवार जाजरकोटको साल्मा पहाडबाट भित्री मधेसमा पर्ने सुर्खेत वीरेन्द्रनगरमा झर्दा धेरै मान्छेसँग चिनजान पनि थिएन । राम्रोसँग रहनसहन नभएको ठाउँमा मर्दा पर्दा गाउँको जस्तो सजिलै दुःख–सुख बाँड्न सक्ने अवस्था हुनु अझ परको कुरो भयो । झनै कोरोनाका कारण मृत्यु भएको भन्ने सुनेपछि भेटघाटमा आउने आफन्त र अन्य शुभचिन्तकहरू चाहेर पनि भेट्न मान्दैनथे ।
पति विछोडको वेदना खेप्दै गर्दा रोगको प्रकृतिले पनि झनै पीडा दिलायो रावतको परिवारलाई । त्यो बेला कोरोना सङ्क्रमण र त्यसबाट मृत्युको खबर सुन्नेहरू डरले नजिक नआएरै भाग्थे । कोभिड-१९ सङ्क्रमण भएको भनेपछि समाजले पनि कमजोर र अपमानित दृष्टिकोणले नजर लगाउँथ्यो ।
समाजको यस किसिमको व्यवहारले पीडा भएर रावतको दैनिकी आँसुको आहालमा परिणत हुन्थ्यो । त्यस बेला उनले मृतक पतिको सत्गद् आफ्नो संस्कारअनुसार पनि गर्न पाइनन् । पतिको अवसानको अन्तिम क्षण त्यो मृत भौतिक अनुहार हेर्न नपाएरै टाढैबाट हात हल्लाएर बिदाइ गर्नुपर्यो ।
‘पीडा र आँसुको आहालबाट तङ्ग्रिन गाह्रो त भयो नै । तथापि संसारलाई हेरेँ अनि चित्त बुझाउँदै शोकलाई शक्तिमा बदलेर पतिको सपनालाई पूरा गर्ने दृढ सङ्कल्प मनमनै गरेँ’, पद्माले भनिन्, ‘छोरा छोरी साथमै छन् । अब धेरै बिलौना गरेर बाँकी जीवन चल्दैन भन्ने लाग्यो र त्यस दिनदेखि उनले बनाएको बाटोमा हिँड्न सुरु गरेँ ।’
दिवङ्गत बुढाले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेतको नेवारेमा झन्डै ३० कट्ठा क्षेत्रफलको जग्गा लिजमा लिएर ड्रागन फ्रुटको बिरुवा रोप्नका लागि ६ सय ३४ वटा सिमेन्टको खम्बा ठड्याइसकेका थिए । विसं २०७८ वैशाख पहिलो हप्तासम्म झन्डै ८५ प्रतिशत काम भइसकेको थियो ।
पतिको निधनपछि फर्म सञ्चालकको जिम्मेवारीले ड्रागनका बिरुवा भने पद्माले रोपिन् । एउटा खम्बामा चार वटाको दरले रोप्दा ६ सय ३४ खम्बामा झन्डै दुई हजार ६ सय ड्रागनको बिरुवा लगाइएको उनले बताइन् । उनका अनुसार बिरुवा लगाउँदा कसरी फल्छ र यसको गोडमेल कसरी गर्नुपर्दछ भन्ने त्यति सुझबुझ थिएन ।
प्राविधिक ज्ञान, आर्थिक अभाव र जनशक्ति व्यवस्थापन विना अन्धाधुन्दा खेती सुरु गरेको उनले बताइन् । पद्माले भनिन्, ‘यो कस्तो ठाउँमा बढी उत्पादन हुन्छ ? कति पानी चाहिन्छ ? काँटछाँट कसरी गर्ने ? कति पछि र कस्तो फल दिन्छ ? भन्ने कुराको हामीलाई त्यति ज्ञान नै थिएन । यो त उनलाई मात्र थाहा थियो ।’
बीरबहादुरले भने दाङ, चितवनलगायतका नेपालका विभिन्न ठाउँको ड्रागन फ्रुट खेतीको प्राविधिक र वातावरणीय पक्षको ज्ञान लिएर भारतको गुजरातबाट यसको बिरुवा ल्याएका थिए । त्यो प्राविधिक र वातावरणीय ज्ञान पद्मालाई जानकारी नहुँदै पतिको मृत्यु हुँदा खेती कसरी सुरु गर्ने भन्ने भेउ पाउन गाह्रो भयो ।
खेती सुरु गरेदेखि अहिलेसम्म ७० लाख रुपैयाँ लगानी भइसकेको पद्माले बताए । उनका अनुसार कुनै सरकारी तथा गैरसरकारी निकायबाट सहयोग लिएको छैन । केही आफ्नो र धेरै ऋणकै भरमा लगानी गरेर ड्रागन फ्रुट खेतीलाई यो ठाउँसम्म पुर्याइएको छ । हेल्भटासले भने सिँचाइमा सहयोग गरेको थियो ।
मालिका कृषि तथा ड्रागन फ्रुट फर्मले झन्डै ३० कट्ठामा खेती गरिरहेको छ । वार्षिक तीन लाख रुपैयाँ भाडा तिर्ने गरी लिजमा लिएको यो जग्गा १५ वर्षका लागि सम्झौता गरिएको र हरेक वर्ष १० प्रतिशतले भाडा वृद्धि हुने उल्लेख गरिएको उहाँले बताए ।
ड्रागनको फल बजार जान थालेपछि भने पद्माको परिवारमा खुसी छाउन थालेको छ । उनी भन्छिन्, ‘प्रतिकेजी आठ सय रुपैयाँमा फ्रुट बजारमा बिक्री भइरहेको छ । यो बालबालिकाले आइसक्रिम जस्तो मानेर बढी खाने भएकाले बजारमा माग निकै छ तर हामीले पुर्याउन सकिरहेका छैनौंँ । अहिलेसम्म दुई क्विन्टल जति बिक्री गरिसक्यौंँ ।’
पद्मालाई १७ वर्षीया छोरी सपना बुढाले ठूलो सहयोग गर्दै आएकी छिन् । एसईई नतिजाको पर्खाइमा बसेकी सपनाले बुबाको सपना पूरा गर्नेमा आफ्नो पनि हिस्सा रहेको बताए । ‘सायद बाबाले आफ्नो सपना पूरा गर्न मेरो नाम पनि सपना राख्नुभएको थियो’, उनले भने, ‘त्यसैले यही खेतीलाई नमुना बनाएर बाबाको सपना पूरा गर्छु ।’
सपनाले आमासँग काम गर्दै यो खेतीका बारेमा धेरै सिकेको बताइन्। उनका अनुसार एउटा पिलरमा लगाइएको बिरुवाबाट तीन केजीसम्म फ्रुट फल्ने गर्छ र महिनामा दुई लट दिने यो फल जेठदेखि असोजसम्म फल दिन्छ । यस हिसाबले सामान्यतया एक महिनामा तीन हजार ६ सय र पाँच महिनामा १८ हजार केजी ड्रागन फ्रुट उत्पादन हुन्छ । फ्रुट उत्पादनसँगै ड्रागनको बेर्ना पनि फर्मले उत्पादन गरेर दुई सय रुपैयाँमा बिक्री गर्दै आएको छ । आफूले बुझेअनुसार एक पटक लगाएको ड्रागनको बिरुवाले २० देखि ३० वर्षसम्म फल दिने सपनाले बताइन् ।
विगतमा कृषिबारे कुनै ध्यान नभए पनि एसईईको नतिजापछि ड्रागन फ्रुट खेती गर्न सहयोग पुग्ने प्राविधिक विषय लिएर उच्च शिक्षा पढ्ने लक्ष्य राखेको उनले जनाए । ड्रागन फ्रुट बिक्रीले बुढा परिवारलाई पछिल्लो समयमा घर खर्च चलाउन, बालबालिकाको पढ्न सहयोग पुगेको छ । अब भने आम्दानी बढेर यो खेतीका लागि लगानी गरिएको ऋण तिर्न मद्दत पुग्ने उनीहरूले अपेक्षा गरेका छन् ।
कृषि विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले एकल महिलाको प्रयासले गरिएको खेती वर्णन गर्न लायककै भएको बताइन् । उनले भने, ‘फर्मको उत्पादन र विकास यही रफ्तारमा गयो भने यसले आम्दानी राम्रो दिने देखिन्छ । वार्षिक छ लाख रुपैयाँभन्दा कम आम्दानी हुँदैन ।’
उनले मालिका ड्रागन फ्रुट फर्मलाई ८० हजार रुपैयाँसहित एक हाते ट्र्याक्टर पनि सहयोग गरिएको बताउनुभयो । निर्देशक रोकायका अनुसार पद्मा रावतसहित कर्णाली प्रदेशमा अहिले आठ हेक्टर अर्थात् पाँच बिघा क्षेत्रफल जमिनमा ड्रागन फ्रुट खेती भइरहेको छ । ड्रागन फल गर्मी र सुक्खा हावापानीमा हुने सिउँडी प्रजातिको फलफूल हो । यसको लहरा ड्रागनको जिब्रो जस्तै हुने हुँदा यसलाई ड्रागन फल भनिएको हुनसक्छ । यस फलको स्वाद गुलियो र अमिलो पनाको मिश्रित हुन्छ । यसको काण्ड कमजोर हुने भएकाले खम्बा वा अन्य चिजको सहारा आवश्यक पर्दछ ।
कर्णाली प्रदेशमै विना कुनै सहयोगमा एकल महिला पद्मा बुढाको एक प्रयासमा गरेको ड्रागन फ्रुट खेती दुई हप्ताअघि कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले अवलोकनको साथै उद्घाटन गरे । त्यहाँ पुगेका मन्त्री शाहीले एकल महिलाको एकल प्रयासले भएको सफलताको उच्च प्रशंसा गरे । ‘कृषिका माध्यमबाट कर्णालीको अर्थतन्त्र र आत्मनिर्भरता बढाउन योगदान दिने कृषि व्यवसायीहरूमा रावत एक उदाहरणीय पात्र हुन्’, उनले भने, ‘सरकारले व्यावसायिक खेती गरेर कर्णाली प्रदेशलाई माथि उठाउन सहयोग पुर्याउने कृषकलाई विशेष प्रोत्साहन दिन्छ ।’
मन्त्री शाहीले स्वाभिमानी र पौरखी व्यक्तिहरूका कारण कृषि क्षेत्रको व्यावसायिकता बढ्ने जनाउँदै फर्मका सञ्चालक रावतलाई ड्रागन फ्रुट उत्पादनपछि बिक्रीमा समस्या हुन नदिने आश्वासन दिए । उन का अनुसार बिक्री वितरणमा समस्या भएमा प्रदेश सरकारले सहजीकरण गरिदिने छ ।
काम गर्दै सिकेको ज्ञान र बाध्यात्मक रूपले थपिएको जिम्मेवारीले गरेको खेती भएकाले व्यावसायिक बन्न केही समय लाग्ने उनको बुझाइ छ । ‘पूर्वमन्त्री तथा ड्रागन व्यवसायी लोकेन्द्र विष्ट मगरले दाङमा गरेको ड्रागन फ्रुट खेतीको अवलोकन गरियो’, उनले भने, ‘त्यहाँको ड्रागन फ्रुट सेतो रङको रहेछ । दाना भने ठूलो रहेछ ।’
त्यो खेती अवलोकन गर्न र त्यहाँको अनुभव लिन शुल्क तिर्नु परेको क्षणबारे सुनाउँदै उनले आफू व्यावसायिक बन्न नसकेको अनुभूति प्रकट गरे। ड्रागन फ्रुट खेतीको वरिपरि बलियो बार नहुँदा चोरहरूले फल चोर्न थालेको उनले दुखेसो पोखिन् । उनका अनुसार कर्णाली प्रदेश सरकारले चालु आव २०७९/८० मा सिँचाइका लागि एउटा बोरिङ खन्दिने वचन दिएको छ ।

