


ढल फुटेर जलमग्न बन्यो धोबीखोला कोरिडोर

काठमाडाैं – काठमाडाैं महानगरपालिका ५ काे रुद्रमती किनार अर्थात् धोबीखोला कोरिडोर एक हप्तादेखि ढल फुटेर जलमग्न भएको छ । ढल फुटेर सडक जलमग्न भएका कारण सवारी र पैदलयात्रामा समस्या भएको एक हप्तामा पनि यसको व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन ।
ढल फुटेर रुद्रमती (धोबीखोला) मा मिसिन थालेको छ । ढल जाम भएर घर–घरमा छिर्न थालेको स्थानीयवासी रमेश डङ्गोलले गुनासो गरे । धोबीखोला कोरिडोर बनाउनुअघि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले ढल बिछ्याएको थियो ।
त्यस बेला गुणस्तरीय काम नभएकाले प्रत्येक वर्ष वर्षाकाे समयमा यो सडकमा समस्या हुने गरेको स्थानीयवासीको भनाइ छ । वडाध्यक्ष वीरेन्द्र प्रजापति कालोपुलसम्म ढल जाम हुँदा यस क्षेत्रमा समस्या भएको बताए । यस विषयमा अधिकार सम्पन्न वाग्मती समितिका इन्जिनियरलाई जानकारी गराएर स्थलगत रूपमा पनि देखाएको उनले जानकारी गराए ।
अधिकार सम्पन्न वाग्मतीलाई देखाएको एक हप्ता पूरा भए पनि समस्या समाधानका लागि कुनै पहल भने भएको छैन । अधिकार सम्पन्न वाग्मतीले दुई दिनसम्म प्राविधिकलाई समस्या समाधानका लागि खटाएको जनाएको छ ।
समितिका सूचना अधिकारी कमल अर्याल त्यस क्षेत्रमा भूमिगत गरिएको बिजुलीकाे लाइनका कारण पनि ढल व्यवस्थापनमा समस्या भएको बताए । वर्षामा खोलामा पस्न नसकिने र ढलमा बालुवा भरिएकाले पनि पानी बाहिर आएको उनले सुनाए ।

