प्रदेश सरकारको आवश्यकता छैन : कमल थापा


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले प्रदेश सरकारको आवश्यकता नभएको बताएका छन् ।

बलियो केन्द्रीय सरकार र स्थानीय सरकार थप अधिकार सम्पन्न बनाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष थापाले प्रदेश सरकारको भने आवश्यकता नै नरहेको बताए ।

‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्दछ । सङ्घीयताको वर्तमान स्वरुपलाई आमूल परिवर्तन गरेर केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा पनि बढी अधिकार सम्पन्न स्थानीय सरकार गरी दुई वटा तहको संघीय स्वरूप कायम गर्न उपयुक्त हुन्छ’ उनले भने, ‘प्रदेश सरकारको आवश्यकता छैन भन्ने हाम्रो पार्टीको स्पष्ट मान्यता रहेको छ ।’

राप्रपा नेपालले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने आफ्नो पार्टीको मान्यता रहेको पनि बताए ।

अध्यक्ष थापाले राष्ट्रवादी शक्तिहरुबीचको बलियो एकताबाट मात्रै मुलुकको समृद्धि र विकास सम्भव हुने बताए । उनले आफ्नो पार्टी मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएको दाबी समेत गरे ।

प्रतिक्रिया