
युनियन पदाधिकारीका लागि बालुवाटारले लगायो टुंगो
काठमाडौं — नेपाल प्रेस युनियन नयाँ नेतृत्वका लागि संस्थापन पक्षबाट बालुवाटारले चार पदाधिकारीको उम्मेदवारको टुंगो लगाएको छ । नयाँ नेतृत्व चयनसँगै युनियनको महाधिवेशन आगामी साउन ६ र ७ गते मकवानपुरको हेटौंडामा हुँदैछ । युनियनको नवौं महाधिवेशनमा नयाँ नेतृत्वका लागि दिनदिनै उम्मेदवारी घोषणा गर्ने बढेको छ ।
अहिलेसम्म सबैले स्वतन्त्र ढंगले पदाधिकारी र केन्द्रीय कार्यसमिति सदस्यका लागि उम्मेदवारी घोषणा गरिरहेका छन् । तर, नेपाली कांग्रेसको संस्थापन पक्षले भने युनियनका चार पदाधिकारीको नाम टुंगो लगाएको हो ।
युनियनको अध्यक्षमा अनिता विन्दु, बरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी, महासचिवमा जगन्नाथ दुलाल र कोषाध्यक्षमा माधव धितालको नाम टुंगो लगाएको हो ।
बालुवाटारले युनियन अध्यक्षको टिकट दिएपछि अनिता विन्दुले पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गरेकी छन् ।
यसअघि अधिकारीले आफू अध्यक्षको उम्मेदवार बन्ने बताएका थिए । उनले संस्थापन पक्षले आफूलाई टिकट दिने निश्चित भएको बताएका थिए । तर, बालुवाटारले अनिता विन्दुलाई अध्यक्षको टिकट दिएको हो ।
युनियनको अध्यक्षमा शिव लम्साल, ईश्वरी ओझालगायत आकांक्षी छन् । ओझाले यसअघि नै अध्यक्षका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।
त्यस्तै बरिष्ठ उपाध्यक्षमा लीलाराज खनाल र प्रेम केसीले पनि उम्मेदवारी दिने भएका छन् ।
यस्तै, महासचिवमा दिलीप पौडेल, नकुल अर्याल, रमेश वाग्ले, खिला कार्कीलगायतले इच्छा देखाएका छन् ।



कागजपत्र |
