
दिपक मनाङे बामदेव गौतमको ‘एकता अभियान सेनापति’
काठमाडौं– गुन्डागर्दीमा बिख्यात हुँदै राजनीतिमा छिरेका राजीव गुरुङ उर्फ दिपक मनाङे अहिले गण्डकी प्रदेश सभा सदस्य हुन्। बेलामौका विभिन्न प्रकरणमा मिडियामा आइरहने मनाङे पछिल्लो पटक भने कान्छी पत्नी प्रकरणमा चर्चामा थिए। आफैंले पक्राउ गराएपछि उनको चर्चा भएको थियो। त्यसअघि खेलकुदको विषयमा हात छाडेपछि उनको चर्चा थियो।
नेपाल कम्युनिस्ट पार्टीबाट प्रदेश सभामा निर्वाचित भएर पुगेका मनाङे विभाजित अवस्थामा कसको फेरो समात्ने भन्ने दोधारमा थिए। उनी कुनै पनि पक्षमा नभई एकता अभियान थालेका उपाध्यक्ष बामदेव गौतमको खास सेनापतिका रुपमा अगाडि बढ्ने भएका छन्।
उनी एकता अभियानको सानो केन्द्रीय समितिका खास सदस्यका रुपमा गौतमले राखेका छन्।
मनाङे अहिलेसम्म कम्युनिस्ट पार्टीको सदस्य भने छैनन्। उनले तटस्थताको भूमिका निर्वाह गर्न खोजेका थिए। त्यसैले नेकपाको तटस्थ व्यक्तिका रुपमा अभियान चलाएका गौतमको प्रस्तावले मनाङेमा उर्जा थपेको छ। गौतमले टेलिफोन गरेर एकता अभियान टिममा केन्द्रीय सदस्य राखेको मनाङेले स्वीकार गरेका छन्।
उनले भनेका छन्,‘बामदेव गौतमको टिममा बसेर नेकपा एकीकरण अभियानमा लागेको छु। प्रस्ताव आउनासाथ यो त खुसीको कुरो हो भन्ने मलाई लागेको थियो।’
मनाङे यसअघि विभिन्न राजनीतिक दल र मोर्चामा सदस्यका रुपमा थिए। नेपाली कांग्रेसको संरक्षणमा राजनीतिमा लागेका उनी विभिन्न जनजातीका राजनीतिक मोर्चाको राष्ट्रिय सञ्जाल हुँदै नेकपाको राजनीतिमा प्रवेश गरेका थिए।



कागजपत्र |
