प्रचण्डको भारत भ्रमण : स्थायी समितिमा ब्रिफिङ
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका स्थायी समिति सदस्यहरुलाई आफ्नो भारत भ्रमणबारे ब्रिफिङ गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठक अध्यक्ष कमरेड प्रचण्डले भोलिदेखि हुन गइरहेको भारतको तीन दिने भ्रमणको तयारी बारे जानकारी दिएका हुन् ।
करिब २ महिना पहिले नै नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले आफूलाई भेटेर भारतको तर्फबाट उपयुक्त समयमा भारत भ्रमणको निम्तो दिएको प्रचण्डको भनाइ थियो । भेटको अवसरमा प्रचण्डले जुलाईको पहिलो वा दोस्रो सातासम्म भ्रमण सम्भव हुने जवाफ दिएका थिए ।
सोहीअनुसार नै भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाले अध्यक्ष प्रचण्डलाई भारत भ्रमणको औपचारिक पत्राचार गरेको प्रचण्डको भनाइ थियो । पार्टीका स्थायी समिति सदस्यहरुले अध्यक्षको भारत भ्रमण सफलताको शुभकामना व्यक्त गर्दै भ्रमणले दुई देश बीचको आपसी सम्बन्धलाई थप सुदृढ गर्न मद्दत मिल्ने विश्वास व्यक्त गरेका थिए ।