

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज पनि बस्दै

काठमाडौँ- नेपाली कांग्रेसको सोमबारबाट सुरु भएको केन्द्रीय कार्य समितिको बैठक आज पनि बस्ने छ। पार्टी कार्यालय सानेपामा आज दिउँसो १ बजे बैठक बस्ने जनाइएको छ।
बैठकमा पार्टीको समसामयिक स्थिति, भावी रणनीति र सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको समीक्षा हुनेछ। यस्तै आजको बैठकमा सत्ता गठबन्धनका बारेमा पनि समीक्षा हुने कांग्रेसले जनाएको छ।
सभापति देउवा इतर समूहले सत्ता गठबन्धनको विरोध गरिरहेका छन्। इतर समूहको नेतृत्व गर्ने पार्टी नेता शेखर कोइरालाले सभापति निरंकुश तवरले अघि बढेको आरोप लगाउँदै आएका छन्। उनी हिजोको बैठकमा पनि सभापति देउवामाथि प्रश्नैप्रश्न गरेका थिए।
सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेस गरिएको छ। बैठकको पहिलो दिन सातवटै प्रदेशका पार्टी सभापतिले आआफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुका साथै धारणा राखेका छन्।
बैठकमा भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने, विभाग गठनलगायत विविध एजेण्डामा पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुने छ।

