राष्ट्रपति र उपराष्ट्रपतिले दिए बकर ईदको शुभकामना


काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अज्हा (बकर ईद) को शुभकामना दिएका छन्।

छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै उनीहरूले मुस्लिम धर्मालम्बीहरूको सुख, शान्ति तथा समृद्धिको कामना गरेका हुन्।
राष्ट्रपति भण्डारीले मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको इद उल अज्हा (बकर इद) संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएकाले यो पर्व एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउन आग्रह गरेकी छन्।

यस्तै, उपराष्ट्रपति पुनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण मुलुक भएको भन्दै विभिन्न समुदायका चाडवाड, रीतिरिवाज र धर्म संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको बताएका छन् ।

भाइचारा र पारिवारिक मिलनको रूपमा मनाइने इस्लाम धर्मवलम्बीहरूको महान् पर्व इद–अल–अधाले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ गर्ने विश्वास उपराष्ट्रपति पुनको छ ।

प्रतिक्रिया