
अर्थमन्त्रीको कुरा नसुन्ने भन्दै एमालेद्वारा संसद बैठक बहिस्कार
काठमाडौं – प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विशेष समय लिएर बोल्न थालेपछि नेकपा एमालेका सांसदले बैठक बहिष्कार गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री शर्मालाई बोल्नका लागि समय उपलब्ध गराएसँगै एमालेका सांसदहरु बैठक कक्षबाट बाहिरिएका हुन् । त्यसअघि एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्रीका हैसियतले संसदमा सम्बोधन गर्न नमिल्ने बताएका थिए ।
जसका विरुद्ध छानबिनका लागि संसदीय समिति बनेको छ, उसैले मन्त्रीको हैसियतमा संसदमा सम्बोधन गर्न नपाइने भट्टराईको भनाइ थियो ।
बजेट निर्माणका क्रममा १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा दुई जना अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्रीले करको दर परिवर्तन गरेको विषयलाई लिएर एमालेले बैठक बहिस्कार गरेको हो । सो घटनाको छानबिनका लागि ११ संसदीय समिति गठन भइसकेको छ ।



कागजपत्र |
