

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति बनाउने सहमति

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति बनाउने सहमति भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा भएको उनकै कार्यकक्षमा विहान ११ बजेदेखि दलहरुबीच चलेको छलफलमा संसदीय समिति गठनको सहमति जुटेको हो ।
मितिमा कुन कुन दलबाट कतिजना रहने भन्ने विषय टुंगो लाग्न बाँकी रहेको नेपाली कांग्रेसका एक सांसदले बताए । अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७८–०७९ को बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै एमाले सर्वत्र बिरोध हुँदै आएको छ भने प्रमुख प्रतिपक्षी एमालेले संसदीय छानबिनको माग गर्दै आएको थियो ।
कांग्रेस नेता डा.शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा लगायतले अर्थमन्त्री शर्माले पदबाट राजिनामा दिनु पर्ने र त्यसो नभए प्रधानमन्त्रीले बर्खास्त गर्नु पर्ने धारणा सार्वजनिक गर्दै आएका छन् । पार्टीभित्रैबाट दबाब आएपछि प्रधानमन्त्री देउवा र माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार मात्रै पनि छलफल भएको थियो ।
दुई नेताबीचको छलफल लगत्तै सभामुख सापकोटाको कार्यकक्षमा भएको सांसदहरुको बैठकमा संसदीय समिति बनाउन माओबादी समेत तयार भएको थियो ।
छानबिन समिति गठन गर्नुपूर्व अर्थमन्त्री शर्माले संसदमा आफ्नो धारणा राख्न चाहेका थिए । तर एमाले भने उनी दोषी भएकाले स्पष्टीकरणको अवसर दिन नहुने धारणा रोखेको थियो । एमालेले संसदीय समिति गठन गर्नुअघि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने थप शर्त अघि सारेको थियो ।
बुधबार ११ बजेलाई बोलाइएको संसद बैठक २ जेसम्मको लागि स्थगित गरिएको थियो । तर साडे तीन हुँदा समेत बैठक शुरु भएको छैन ।

