लुम्बिनीको मायादेवी मन्दिरमा भेटीबापत २३ लाख उठ्यो


बुटवल – महामानव गौतमबुद्धको जन्मथलो लुम्बिनीस्थित मायादेवी मन्दिरमा २२ लाख ९७ हजार रुपैयाँ भेटीबापत उठेको छ । मंगलवार सकिएको भेटी गणनामा २२ लाख बढी रकम संकलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई ‘सिद्धिचरण’ले जानकारी दिए ।

कोषका कोषाध्यक्ष भट्टराईको नेतृत्वमा आइतवार दानपत्रको रकम गणना शुरू गरिएको हो । दानपत्रको भेटी रकमको गणना गर्न ४ दिनसम्म लाग्ने अनुमान गरिए पनि जनशक्ति बढाएर ३ दिनमै सकिएको हो । गणना कार्यका लागि सुरक्षाकर्मी र कर्मचारीसहित ३० जना जनशक्ति खटाइएको कोषले जनाएको छ ।

कोभिड महामारीपछि लुम्बिनीमा विदेशी पर्यटक निकै कम आएकाले लुम्बिनीमा यसपटक दानपेटिकामा भेटी कम उठेको कोषाध्यक्ष भट्टराईले बताए । अघिल्लोपटक गत चैत १८ गते दानपत्र खोलिएको थियो ।

भेटीबापत उठ्ने रकमबाट करारका कर्मचारीलाई तलब र अन्य व्यवस्थापनको काम गर्दै आएको विकास कोषले जनाएको छ ।

प्रतिक्रिया