

नयाँ मन्त्रीहरूको सपथ आज

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरूको सपथ सोमबार (आज) हुने भएको छ। राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालकाअनुसार सोमबार बिहान ११ बजे मन्त्रीहरूको सपथ गराउने तयारी छ।
आइतबार साँझ देउवाले नेकपा (एकीकृत समाजवादी)बाट नयाँ पाँचजना मन्त्री नियुक्त गरेका छन्। एकीकृत समाजवादीका मन्त्रीहरूले पदबाट आइतबार नै राजीनामा दिइसकेका छन्।
‘नवनियुक्त मन्त्रीको पद तथा गोपनियताकाे सपथ आज बिहान प्रधानमन्त्रीबाट गराइने जानकारी पाएका छौँ,’ नविनयुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीले भने,’सपथ ग्रहणपछि सम्बन्धित मन्त्रालमा पुगेर कार्यभार सम्हाल्ने हाम्रो तयारी छ।’
एकीकृत समाजवादीका जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरी सहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन्।

